
तनहुँ : तनहुँको जामुनेस्थित नवनिर्मित राधा मावि परिसरमा नायक राजेश हमाल पुग्दा सोमबार स्थानीयको भिड लाग्यो। स्वागतमा सबै आतुर देखिए।
घाँसी आदर्श समाज नेपालले निर्माण गरेको विद्यालय भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रमका लागि नायक हमाल यहाँ आएका हुन्।
महानायकका रुपमा चर्चा पाएका हमालले पछिल्लो समय घाँसी नेपालका मानार्थ सदस्य भएर अभियन्ताको रुपमा काम गर्दै आएका छन्। विद्यालय हस्तान्तरण कार्यक्रममा बोल्दै हमालले सुरक्षित विद्यालय भवन पनि शिक्षा क्षेत्रमा महत्त्वपूर्ण अंग भएको र शैक्षिक क्षेत्रमा विद्यमान समस्या समाधानको लागि घाँसी नेपालको अभियानले ठूलो भूमिका खेल्ने भएकाले आफू यस अभियानमा जोडिन पुनेको बताए।
घाँसी नेपालका अध्यक्ष माधवप्रसाद घिमिरेले आफू जन्मेकै स्थानबाट सुरु भएको यो अभियान अफ्नो जीवनकालमा नेपालभरि सञ्चालन गर्ने उद्देश्य रहेको बताउँदै दुरदराज र विपन्न समुदायमा केन्द्रित गरिने जानकारी दिए।
जिल्ला शिक्षा अधिकारी टोपबहादुर श्रेष्ठले घाँसी नेपालले गरेको काम उदारणीय भएकोले आगामी दिनमा यस्ता काम गर्ने जोसुकै संस्थालाइ सहयोग गर्न आफू तयार रहेको बताए।