PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीद्वारा वृद्धवृद्धा, अनाथ र दृष्टिविहीनलाई डेढ लाख सहयोग



पहिलोपोस्ट

इलाम : इलाम सूर्योदय सेवा समाज, दक्षिण कोरियाले वृद्धवृद्धा, अनाथ र दृष्टिविहीन बालबालिकाका लागि रु डेढ लाखभन्दा बढी आर्थिक सहयोग प्रदान गरेको छ।
 
समाजले माईभगवती वृद्धाश्रमका लागि भवन निर्माणका लागि रु ४१ हजार, गोलाखर्कमा रहेको राहसल बाल अनाथलयलाई रु एक लाख एक हजार र दृष्टिविहीन बालबालिकालाई लत्ताकपडाका लागि रु २१ हजार नगद हस्तान्तरण गरेको हो।
 
वृद्धाश्रममा निर्माणाधीन भवनका लागि रकम अभाव भएको जानकारी प्राप्त भएपछि कोरियामा बस्ने नेपालीले सहयोग सङ्कलन गरेको इलाम समाज, दक्षिण कोरियाका वरिष्ठ सल्लाहकार प्रतीक बोहोराले जानकारी दिए।
 
गोलाखर्कमा रहेका अनाथ बालबालिकालाई शिक्षादीक्षामा टेवा पुर्‍याउने उद्देश्यले रु एक लाख एक हजार नगद अनाथालयका अध्यक्ष राजेन्द्र चौहानलाई हस्तान्तरण गरिएको छ।
 
सदरमुकामस्थित बालमन्दिरमा अध्ययनरत दृष्टिविहीन बालबालिकालाई लत्ताकपडा खरिद गर्नका लागि बालमन्दिरकी श्रोत शिक्षिका महेश्वरी पाण्डेलाई समाजको तर्फबाट रु २१ हजार नगद हस्तान्तरण गरिएको छ।
 
इलाम सूर्योदय सेवा समाज दक्षिण कोरियाले यसअघि दोलखा जिल्लाको नाम्दु गाविसका करिब २०० भूकम्पपीडितलाई रु दुई लाख ५० हजार, ताप्लेजुङ र सप्तरीका अग्निपीडितलाई रु दुई लाख आर्थिक सहयोग गरेको छ।
 
समाजले आर्थिक अवस्था कमजोर भएर काठमाडौँमा उपचाररत इनपाका सुशान्त तामाङलाई हालै रु तीन लाख आर्थिक सहयोग प्रदान गरेको समाजका अध्यक्ष हरिप्रसाद खनालले बताए।रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell