पथरी (मोरङ) : लोप हुन लागेका विभिन्न जातका कछुवालाई बेतना सिमसार क्षेत्रमा राख्न थालिएको छ।
मोरङको बेलबारीमा रहेको बेतना सिमसार क्षेत्रले कछुवा संरक्षण अभियान सुरु गरेको हो। सिमसार संरक्षण समितिका सदस्य भोजराज बस्नेतका अनुसार स्थानीय प्रजातिलाई संरक्षण गर्नका साथै लोप हुन लागेका विभिन्न जातका कछुवालाई सिमसार क्षेत्रमा राख्न थालिएको छ।
तालमा राखिएको मोटरबोटमा बोटिङ गर्ने र होटलको समेत राम्रो व्यवस्था भएकाले कछुवा हेर्न आउनेको सङ्ख्या सिमसार क्षेत्रमा बढेको छ।
सिमसार क्षेत्रमा रहेको तालमा आठ वटाभन्दा बढी प्रजातिका झन्डै ३०० भन्दा बढी कछुवा रहेको बेतना सिमसारका सदस्य बस्नेतको भनाइ छ। कछुवा हेर्नका अतिरिक्त सिमसारको मनोरञ्जन लिन आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ।रासस