PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

चन्दाकै भरमा पालिँदैछन् शिक्षक, ४६ सालदेखि अभिभावकबाट स्वेच्छिक चन्दा



रासस

भीमदत्तनगर : गाउँका अभिभावकले चन्दा सङ्कलन गरेर कञ्चनपुरको वाइसेविचुवा गाविस–१ बिन्वारीमा रहेको दुर्गा राष्ट्रिय प्राथमिक विद्यालयका शिक्षकलाई तलब खुवाउँदै आएका छन्।
 
जिल्लाकै विकट ग्रामीण भेगमा रहेको विद्यालयमा दुई जना शिक्षकलाई २०४६ सालदेखि गाउँमा अभिभावकबाट चन्दा सङ्कलन गरेर अध्यापनबापत तलब खुवाउँदै आएको विद्यालयका शिक्षक रामविलास रानाले बताए।
 
९५ प्रतिशत आदिवासी जनजाति समुदायका विद्यार्थी अध्ययन गर्दै आएको विद्यालयमा हाल २७५ जना विद्यार्थी रहेका छन्। 'हरेक वर्ष विद्यार्थी भर्नाका बेला अभिभावकले स्वइच्छाले दिएको चन्दाले दुई शिक्षकलाई वर्षभरि तलब खुवाउनुपर्ने बाध्यता रहेको छ,' शिक्षक रामविलास रानाले भने, 'शिक्षक पनि तलबभन्दा समाजसेवा भन्दै शिक्षाको भविष्यका लागि लागिपरेका हुन्।'
 
स्थापना भएको लामो समय बितिसक्दा पनि स्कुलको अवस्थामा कुनै सुधार आउन नसकेको उनको भनाइ छ। 'दुई जना निजी स्रोत, तीन राहत, दुई बालविकास र दुई जना स्थायी कर्मचारी कार्यरत छन्,' उनले भने, 'निजी स्रोतका शिक्षकलाई मासिक रु ३५ सय र रु छ हजार दिएका छौँ।'
 
निजी स्रोतका शिक्षक व्यवस्थापनका लागि मासिक रु नौ हजार ५०० का लागि स्थापनाकालदेखि नै अभिभावकबाट चन्दा उठाउँदै आएको शिक्षक रानाको भनाइ छ।
 
'प्राविभन्दा माथिल्लो स्तरको अध्ययनका लागि केही वर्षअघिसम्म बेलौरी, पुनर्वासदेखि धनगढीसम्म घन्टौं साइकल चढेर जानुपर्ने बाध्यता रहेको थियो,' उनले भने, 'केही वर्षअघि छिमेकी भिमबस्तीमा उच्च मावि खुलेपछि विद्यार्थीलाई केही हदसम्म सहज भएको छ।'
 
नौ जना शिक्षक कर्मचारी रहेको विद्यालयमा सातजना रानाथारु समुदायका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell