‘कान्तिपुर’ नेपालको पहिलो निजी क्षेत्रको ब्रोडसिट दैनिक होइन। ‘गोरखापत्र’ र ‘दी राइजिङ नेपाल’ बाहेक पहिलो ब्रोडसिट दैनिकका रुपमा पटक-पटक ‘कान्तिपुर’लाई चिनाइने गरिएकाले यहाँ उल्लेख गरिएको मात्र हो। ‘समाज’ दैनिक ‘कान्तिपुर’ जन्मनुअघि नै ब्रोडसिट आकारमा छापिइसकेको थियो। संस्थापक मणिराज उपाध्यायले मदनमणि माड्साब (दीक्षित) र गोपालदास श्रेष्ठसँग मिलेर करिब एक वर्ष ब्रोडसिट प्रकाशन गरे तर टिकाउन सकेनन्। श्रेष्ठको प्रेसमा छापिने पत्रिकामा अन्य लगानीकर्तासँगै उपाध्याय लामो समय कायम रहन सकेनन् र फेरि पुरानै आकारमा पत्रिका जारी रह्यो २०५४ सालसम्म। पत्रिकाको अन्तिम अंक छापिएको दुई दशक पूरा हुनै लाग्दा समाजका संस्थापक मणिबाबु हामीसामु छैनन्।
डेढ दशकअघि डिल्लीबजारमा रहेको उनको निवासको ढोका ढकढक्याउँदा चहकिलो मुहार भएका उनले सजिलो उपाय सुझाएका थिए– समाज भनेर दूरसञ्चार संस्थानमा फोन गरेको भए हुन्थ्यो त। पत्रिका बन्द भए पनि मणिबाबुलाई समाजसँग जोड्ने तार यही टेलिफोन रह्यो लामो समयसम्म।
टंकप्रसादसँगै जेल परेका थिए मणिराज उपाध्याय। त्यही बन्यो पत्रकारिताको एउटा जगको डिजाइन जसले राणाविरुद्धको आन्दोलनमा होमिएका उपाध्यायको राजनीतिक पत्रकारिता पेशागत पत्रकारितामा परिणत गरायो। र, निजी क्षेत्रको दैनिक खबरपत्रले अहिलेसम्मकै लामो यात्रा तय गर्यो। पत्रकारिताबाट २०५४ सालदेखि नाता टुटाएका मणिराज उपाध्यायको भौतिक रुप अब छैन। तर, पत्रकारितामा उनले बनाएको जग भने जब्बर बनिसकेको छ।
राष्ट्रवादको चर्को नारा लगाएर मधेश पहाडबाट अलगिँदै छ भन्नेहरुको बाहुल भएको अहिलेको समयभन्दा ठीक उल्टो थियो मणिबाबुको पत्रकारिता थालनीको समय। २००७ सालमा प्रजातन्त्र घोषणापछि जेलबाट मुक्त भएका मणिबाबुले टंकप्रसादसँगको छलफलबाट निर्णय गरे– हिन्दी पत्रिका निकाल्ने। 'किनकि तराई अलग भइरहेको थियो। कसैले तराईलाई वास्ता गरेको थिएन। काठमाडौंमा नै हिन्दीमा पत्रिका चल्छ भन्ने देखाउनु थियो। त्यतिखेर तराईमा नेपाली भाषा बुझ्नेहरु थिएनन्,' उपाध्यायले सुनाएका थिए। यही पृष्ठभूमिले मणिबाबुको पत्रकारिता थालनी गरायो– ‘सही रास्ता’ मार्फत। मधेशलाई देशसँग जोड्न हिन्दी भाषाको पत्रिका। हिमाल, पहाड र मधेश जोड्न भाषाको सहारा लिएका थिए उनी र टंकप्रसाद आचार्यले।
प्रजापरिषद्का नेताका हैसियतमा काठमाडौंभित्र निर्वाचित भएका थिए मणिबाबु। नेवार समुदायको बाहुल्यता रहेको त्यतिखेर उनको राजनीतिक हसियत काठमाडौंभित्र बढ्नु स्थानीयका लागि प्रिय विषय थिएन। त्यसमाथि प्रजापरिषदभित्र विवादहरु चर्किन थालिसकेको थियो। २००९ सालमा बिपी कोइरालाको आमसभामा तोडफोड भएपछि त्यसको विरोधमा समाचार र सम्पादकीय लेखे। उनका लेख पार्टीभित्र उनको विरोध गर्नेहरुका लागि राम्रै इस्यु भयो। गोर्खा परिषद्को कार्यक्रममा पनि तोडफोड भयो र उनले त्यसको पनि विरोध गरे। पार्टीभित्र उनलाई गोर्खा परिषद्को पक्षमा लेखेको भन्दै प्रस्टीकरण मागियो। त्यसपछि राजनीतिबाट उनी पत्रकारिता पेशातिर उन्मुख भए। ‘सही रास्ता’लाई स्वतन्त्र भएको घोषणा गरे। शैक्षिक अवस्था अत्यन्त कमजोर, पत्रिका पढ्ने र किन्ने चलन नभएकाले टिकाउनै कठिन। थोरैमात्र विज्ञापन। ‘सही रास्ता’ २०१० सालसम्म चल्यो र बन्द भयो। त्यतिखेरै दैनिक अखबार चलाउने निधोमा पुगिसकेका थिए उनी।
पशुपतिदेव पाण्डे, लक्ष्मणप्रसाद पाण्डे, भीमप्रसाद बाजपेयी र चुडाप्रसाद सहितको योगदानमा ‘समाज’ दैनिक चलाउने तय भयो। सबैले ५ सय ५ सय रुपैयाँ राखेर समाजको सुरुवात भयो। पशुपतिप्रसाद पाण्डेको प्रेसमा छापिने भएकाले उनले लगानी गर्न परेन। एक रिम कागजको ११ रुपैयाँ थियो त्यतिखेर। ह्यान्ड कम्पोज फर्माको ७ रुपैयाँ। तैपनि चलाउन हम्मे। चिया खानसमेत पैसा खोज्नुपर्ने भयो उनीहरुलाई। फेरि लगानीकर्ताहरुले ५/५ सय रुपैयाँ थपे पत्रिकामा। ९ महिनापछि चिया खाने पैसा जुट्न थाल्यो। ‘सही रास्ता’को समाचारबाट मुद्दा खेपिरहेकाले सुरुमा पत्रिका पशुपतिदेव पाण्डेको नाममा दर्ता थियो मुद्दा फैसला भएपछि भने ‘समाज’ स्वत: मणिबाबुको नाममा आयो।
प्रधानमन्त्री टंकप्रसाद आचार्यको चीन भ्रमण जाँदा पत्रकारका हैसियतले मणिराज पनि गए। पत्रकारका हैसियतले प्रधानमन्त्रीसँगको विदेश भ्रमणमा जाने उनी पहिलो हुन्। ‘समाज’ बन्द हुन्छ भनेर अनकनाएका उनी पछि प्रधानमन्त्रीका लागि सहयोग गर्न चीन भ्रमणमा गएका थिए। आचार्यले गर्ने भाषण उनी लेख्थे र नरप्रताप राणाले त्यसलाई अंग्रेजीमा उल्था गर्थे।
केआई सिंह प्रधानमन्त्री हुँदा समाचारकै कारण जेल परे उनी। भारतीय भूमि सिँचित गर्न नेपाली भागमा कुलो लगाउन बन्द गर्न सिंहले दिएको निर्देशनको पत्रसहित समाचार छापे। उनलाई समाचारको स्रोत खुलाउन ठूलै दबाब दिइयो। मजिस्ट्रेटलाई उनले जवाफ दिए– पत्रकारले स्रोतको रक्षा गर्नु उसको अधिकार र जिम्मेवारी हो।
त्यसो त २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रको अपहरण गरे लगत्तै ‘समाज’ले स्वागत गरेको थियो। तीन महिनापछि सरकारको कदमको विरोध गर्दा पत्रिकामा प्रतिबन्ध लाग्यो र उनी जेल परे।
पञ्चायतकालमा अञ्चालाधीश पनि भए उनी। सुरुवातदेखि पटकपटक मुद्दा, प्रकाशन बन्द, दर्ता खारेजी भोग्दै चल्यो ‘समाज’। उनले विशेष पद पाउँदा पत्रिका बन्दै रह्यो। तर, नेपालको इतिहासमा लामो समय टिक्ने निजी क्षेत्रको दैनिक अखबारमा आफूलाई स्थापित गरिरह्यो।
पटकपटक जेल जीवनमा अभ्यस्त भएका थिए उनी। २००६ सालमा पहिलोपटक जेल परे। २००७ सालमा ९ महिना कैद जीवन। बिपी गृहमन्त्री हुँदा ६ दिन जेल। केआई सिंह प्रधानमन्त्री हुँदा २९ दिन जेल। उनका मिसिलहरुसमेत राखेर गृष्मबहादुर देवकोटाले पुस्तक नै तयार गरेका छन्।
बिपी कोइरालासँग मणिबाबुको विशेष सम्बन्ध थियो। टंकप्रसाद आचार्य र बिपीलाई मिलाउन यिनले सक्दो प्रयास गरेका थिए। 'मैले बिपीबाबुलाई पञ्चायत यदि पूर्ण रुपमा प्रजातान्त्रिक हुन्छ भने के आपत्ति भयो त भनेर सम्झौताको प्रस्ताव अघि सारेँ,' मणिबाबुले सुनाएका थिए, 'उनले तपाईँ लेखेर ल्याउनुस म सही गरिदिन्छु भनेका थिए।'
जेलबाट छुटेलगत्तै महेन्द्रसँग मिलाप गराउन ५० रुपैयाँ खर्च गरेर विराटनगर पुगेका थिए उनी। तर उनको प्रयास असफल भयो– बिपी र महेन्द्रलाई मिल्न नदिनेहरु बलिया भए। विराटनगरबाटै उनले बिपीको अन्तर्वार्ता लिए, जसमा बिपीले भनेका थिए– मैले क्रान्ति गर्छु भनेको बच्चा जन्माउन नसकेको महिलाको सिजरियन गर्नुपर्छ भनेको हो। तर उनकै पत्रिकामा बिपीको अन्तर्वार्ता छापिएन। रमेशनाथ पाण्डे समाज पुगेर मणिबाबुका छोरालाई 'यो छापियो भने तिम्रो बाबु जेल पर्छन्' भनेर धम्क्याएपछि उनकै सम्पादकत्वमा प्रकाशित पत्रिकामा उनकै अन्तर्वार्ता छापिएन। बिपी-महेन्द्र मिलाउने उनको प्रयास असफल भयो।
नेपाली पत्रकारितामा समाज र मणिबाबुका प्रसंगहरु धेरै छन्। एक पटक प्राध्यापक पी खरेल र म मणिबाबुकहाँ लामै भलाकुसारी गर्न पुगेका थियौं। त्यतिखेर उनले पत्रकारिताप्रति गहिरो चिन्ता प्रकट गरेका थिए। पत्रकारिताले धर्म बिराएको उनको अनुभूति थियो। भनेका थिए– अहिले म देशमा पत्रकारिता नै देख्दिनँ। कहिले तीन दल मिल्ने भयो भन्यो कहिले नमिल्ने भन्यो। कहिले कुन नेताले कहिले कुन नेताले हुन्छ र हुन्न भन्यो मात्र। फेरि फलानोले यसो भन्योमै सकियो। यसलाई पनि पत्रकारिता भन्नु?
उनको प्रश्नमा हामी सहमत भए पनि जवाफ थिएन। यसैगरी चलेकै छ। समाजका पहिलोदेखि अन्तिम अंकसम्म छ उनीसँग जोगाएको। धुलाम्मे छ। समाजका हरेक अंकहरु नेपाली समाजका प्रतिनिधि हुन्। तिनलाई जोगाउन कसैले वास्ता नगरेकोमा उनले चित्त दुखाएका थिए। अब उनले जसरी नै चित्त दुखाउनेहरु छैनन्। कुनै समय पत्रकारिताको स्कुल नै थियो समाज। त्यही समाज अहिले अलपत्र छ। जोगाउने पहलमात्रै हुन सक्यो भने पनि मणिबाबुप्रति सच्चा श्रद्धाञ्जली हुन सक्थ्यो।
अलबिदा मणिबाबु।