PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

गैरपत्रकारलाई सदस्यता सिफारिस गरिएको भन्दै पत्रकार महासंघ काठमाडौंमा विवाद



रासस

गैरपत्रकारलाई सदस्यता सिफारिस गरिएको भन्दै पत्रकार महासंघ काठमाडौंमा विवाद

काठमाडौँ : नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखामा नयाँ सदस्यता विवाद देखिएको छ।
 
महासङ्घ केन्द्रले आह्वान गरेअनुसार नयाँ सदस्यताका लागि कुल पाँच सय ५३ को आवेदन परेको र चार सय ४० लाई सिफारिस गरिएकामा त्यसमा गैरपत्रकारको पनि परेको तथा कतिपय कार्यरत पत्रकारको छुटेको भनी उजुरी परेपछि विवाद देखिएको हो। विवाद मिलाउन शाखाले आवेदन परेका र सिफारिस भएका सदस्यको कागजात पुनः अध्ययन थालेको छ।
 
सोही विषयमा केही नयाँ आवेदकले आफ्नो सदस्यता किन सिफारिस भएन भन्दै सोमबार शाखाको भृकृटीमण्डपस्थित कार्यालयमा आक्रोश व्यक्त र भनाभन हुँदा पत्रकारिताका केही सङ्गठनले कार्यालय तोडफोडको प्रयास भएको जनाएका थिए। जिल्ला शाखाहरुको अधिवेशन घोषणा गरिसकेको महासङ्घ केन्द्रले यसै साता देशभरका शाखाका नयाँ सदस्यता र नवीकरणबारे टुङ्गो लगाउँदैछ।
 
शाखाका अध्यक्ष गोविन्द चौलागाईंले प्रक्रिया पुर्‍याउने नाममा गैरपत्रकार नपरून् र कार्यरत पत्रकार नछुटून् भन्ने ध्येयका साथ काम भइरहेकाले यसमा सबै पक्षबाट सहयोग आवश्यक भएको बताए। पत्रकारिता पेसालाई मर्यादित र जिम्मेवार बनाउन सबैको भूमिका हुने बताउँदै उनले सदस्यताको विवाद आपसमा बसेर समाधान गर्नेतर्फ आफूहरु लागिपरेको जानकारी दिए।
 
यसैबीच प्रेस चौतारी नेपाल काठमाडौँका अध्यक्ष लोकेन्द्र केसीले प्रेस विज्ञप्ति जारी गरी कागजात पुगेका र योग्य पत्रकारलाई सदस्यता दिन ढिलाइ गर्न नहुने बताउँदै आफूहरुले कुनै तोडफोडको प्रयास नगरेको जिकिर गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell