PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

प्राधिकरणलाई उपभोक्ताको साथ : पिक आवरमा खर्चिला उपकरण चलाएनन्, यसरी घट्यो लोडसेडिङ



पहिलोपोस्ट

प्राधिकरणलाई उपभोक्ताको साथ : पिक आवरमा खर्चिला उपकरण चलाएनन्, यसरी घट्यो लोडसेडिङ

काठमाडौँ : नेपाल विद्युत प्राधिकरणको लोडसेडिङ मुक्त अभियानलाई उपभोक्ताले सघाउँदै पिक आवरमा धेरै बिजुली खपत गर्ने उपकरण नचलाएर सहयोग पुर्‍याएका छन्।

उपभोक्ताले सघाउँदा पिक आवरमा  व्यवस्थापनमा सहज भएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए।
 
‘माग बर्सेनि बढेको छ तर आपूर्ति त्यस अनुरुप वृद्धि भएको होइन,' उनले भने, 'माग पक्ष व्यवस्थापनमा उपभोक्ताको साथले नै चौबीसै घन्टा उज्यालो दिन सम्भव भएको छ।’
 
तिहारयता राजधानी लगायत मुलुकका अधिकांश भूभागलाई लोडसेडिङ मुक्त गराएको प्राधिकरणले बिहान र बेलुका पिक आवरमा खर्चिला उपकरण नचलाइदिन उपभोक्तालाई आह्वान गरेको थियो।
 
‘बिहान ५-८ र बेलुका ५:३०-८:३० बजेको अवधिमा वासिङ मेसिन, पानी तान्ने पम्प, गिजर, आइरन लगायत अत्यधिक बिजुली खपत गर्ने उपकरण नचलाए लोडसेडिङ गर्न नपर्ने’ प्राधिकरणले सार्वजनिक अपिल मार्फत जानकारी दिएको थियो।
 
प्राधिकरणको अनुरोधलाई सर्वसाधारण उपभोक्ताले निरन्तर पालना गरेको प्रवक्ता अधिकारीले जानकारी दिए।
 
‘धेरै चिसो बढेको दिन हिटर लगायत न्यानो उपकरण चलाएर लोड थाम्न नसकिने होला कि भनेर हामीलाई डर पनि लाग्छ,' उनले भने, 'तर, जस्तोसुकै मौसम भए पनि पिक आवरमा हामीले उपभोक्ताबाट पुर्ण सहयोग पाएका छौँ।’
 
राजधानीको विद्युत माग जस्तै पिक समयमा पनि ३१५ मेगावाट ननाघेको उनले जानकारी दिए। राजधानीमा मुलुकभर खपत हुने बिजुलीको एक चौथाइ हिस्सा उपयोग हुन्छ। राजधानी लगायत देशैभरका उपभोक्ताले प्राधिकरणको अपिललाई स्वीकार गरेको उनले बताए।
 
मुलुकभर पनि पिक आवरमा अधिकतम १२५० मेगावाट भन्दा धेरै विद्युत माग नभएको उनले जानकारी दिए।
 
माघ १९ बाट भारतको बिजुली
प्राधिकरणले माघ १९ गतेबाट थप ४० मेगावाट भारतीय बिजुली काठमाडौँ ल्याउने भएको छ। प्राधिकरणले हालै ढल्केवर-खिम्ती प्रशारण लाइन जडान गरेपछि भारतीय बिजुली ल्याउन सम्भव भएको हो।
 
भारतको मुजफ्फरपुरबाट आयात गरिएको बिजुली अहिले ढल्केवर-खिम्ती-भक्तपुर हुँदै काठमाडौँ ल्याउन सुरु भएको छ। प्राधिकरणले केही समयअघि २० मेगावाट भारतको बिजुली काठमाडौँ ल्याएर यो प्रशारण लाइनको परीक्षण गरेको थियो।
 
अहिले दैनिक १० मेगावाट हाराहारी भारतको बिजुली काठमाडौँ आइरहेको प्रवक्ता अधिकारीले बताए। ‘माघ १९ पछि थप अधिकतम ४० मेगावाटसम्म भारतीय बिजुली काठमाडौँ ल्याउन सकिने गरि सम्झौता गर्न लागेका हौँ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell