काठमाडौँ : व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले स्थानीय निकायको तत्काल निर्वाचनको मिति घोषणा गर्न सरकार र संसद्को ध्यानाकर्षण गराएका छन्।
स्थानीय निकायसम्बन्धी आयोगले प्रतिवेदन बुझाइसकेको र केही जिल्लामा विवादसमेत देखिएको सम्बन्धमा प्रधानमन्त्रीले मन्त्रिपरिषदमार्फत् समस्या समाधानका लागि पहल गर्नसमेत उनीहरुले आग्रह गरे।
व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा स्थानीय तथा राष्ट्रिय समस्यालगायत स्थानीय निकायको निर्वाचनको मिति घोषणामा भइरहेको बिलम्बप्रति सरकारको आलोचना गरेका थिए।
सांसद् ओफिलाल ओफेडा, आशा घिमिरे, आशा कोइरालाले तत्काल लोकतन्त्रको आधार स्तम्भका रुपमा रहेको स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न आग्रह गरे।
केही जिल्लामा रहेको विवादसमेत मन्त्रिपरिषद्ले समाधान गर्नसक्ने कानुनी प्रावधानलाई उपयोग गर्नसमेत उनीहरुले ध्यानाकर्षण गराए।
सांसद् आदित्यनारायण कशौधनले मुग्लिन–नारायणगढ सडकखण्डको निर्माण प्रक्रियामा भइरहेको ढिलाइले हजारौँ नागरिक प्रभावित भएकाले युद्धस्तरमा निर्माण कार्य अगाडि बढाउनका लागि सम्बन्धित निकायलाई निर्देशन दिन आग्रह गरेका छन्।
यस्तै तराई मधेस सिँचाइ कार्यक्रममा भइरहेको ढिलाइप्रति सिँचाइ मन्त्रालयले चासो नदिएकामा समेत रोष प्रकट गर्दै भूकम्पपीडितले राहत नपाएको, भूमिहीन किसान सबैभन्दा बढी समस्यामा परेको र राहत नपाएकामा पनि सरकारको ध्यानाकर्षण गराइएको थियो। रासस