काठमाडौँ : सरकारले सङ्घीयता संरचनाअनुसार केन्द्र, प्रदेश र स्थानीय तहको प्रशासनिक कार्यको जिम्मेवारी बाँडफाँड संरचना तयार पारेको छ ।
मुख्य सचिव सोमलाल सुवेदीको अध्यक्षतामा रहेको सङ्घीयता कार्यान्वयन तथा प्रशासन पुनसंरचना समन्वय समितिले संविधानमा भएको व्यवस्था अनुसार तीन तहको प्रशासनिक कार्यको जिम्मेवारी बाँडफाँड तयार पारिएको मन्त्रीपरिषद्का सचिव दिनेशकुमार थपलियाले जानकारी दिए।
समितिले तयार पारिएको तीनै तहको कार्यको विश्लेषण गरी जिम्मेवारीको बाँडफाँडसहितको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा रहेको उच्चस्तरीय सङ्घीयता कार्यान्वयन तथा प्रशासन पुनसंरचना निर्देशक समिति हुँदै मन्त्रीपरिषद् बैठकबाट अनुमोदन भई परिषद्कै पूर्वाधार समितिमा अन्तिम टुङ्गो लगाउन पठाइएको उनले बताए।
'संविधानले तोकेअनुसार समितिले तीनै तहको प्रशासनिक कार्यको जिम्मेवारी तयार पारेका छन्' सचिव थपलियाले भने– ‘‘अब बस्ने निर्देशक समिति बैठकले तयार पारेको कार्यको अन्तिम टुङ्गो लगाउने छ।'
उनका अनुसार तीनै तहमा करिब १ हजार ७ सय ८५ कार्यको बाँडफाँड गरिएको छ। जसअनुसार केन्द्रमा ८७०, प्रदेशमा ५५५ र स्थानीय तहमा ३६० प्रशासनिक कार्य रहेका छन्।रासस