काठमाडौँ : राजा वीरेन्द्रको अकालमा मृत्यु भए नेपालको राजदरबारमा शक्ति संघर्ष कस्तो हुनेछ? अमेरिकी जासुसी एजेन्सी सिआइएले ३४ वर्षअघि तयार पारेको रिपोर्ट रोचक छ।
अमेरिकाको फ्रिडम अफ इन्फरमेसन कानुन अनुसार पुराना केही फाइलहरु सर्वसाधारणको पहुँचमा हुने गरी सार्वजनिक गरिएको छ, जसमा नेपालसम्बन्धी रोचक रिपोर्टहरु पनि समावेश छ।
नेपाल : कन्टिन्युटी एन्ड चेन्ज इन अ हिमालयन मोनार्की, एन इन्टेलिजेन्स एसेसमेन्ट शीर्षकमा तयार पारिएको यो गोप्य रिपोर्टमा नेपालको राजनीतिको विश्लेषण गरिएको छ।
रिपोर्टको सक्सेसन प्रोस्पेक्टस उपशीर्षकमा सम्भावित घटनाका बारेमा आँकलन गरिएको छ। जतिबेला यो रिपोर्ट तयार पारिएको थियो, त्यतिबेला राजा वीरेन्द्र मात्र ३७ वर्षका थिए। नारायणहिटी दरबारमा भएको हत्याकाण्डमा उनको ज्यान जाँदा उमेर ५६ वर्षको थियो।
३७ वर्षको रहँदै सिआइएले अनुमान गरेको थियो- वीरेन्द्रको मुटु रोगका कारण चाँडै मृत्यु हुनसक्छ। यसका लागि उसले राजपरिवारको मुटु रोगको इतिहास खोतलेको थियो। त्यसैगरी राजाहरु धेरै मोटा हुने, धेरै मदिरा सेवन गर्ने र वीरेन्द्रका पिता र हजुरबुबा दुवै ५० को पूर्वार्द्धमै हर्ट अट्याकले मृत्यु भएको प्रसंग पनि सिआइएले रिपोर्टमा राखेको छ।
सिआइएको अनुमान अनुसार वीरेन्द्रलाई माइल्ड हर्ट अट्याक नभएको पनि हैन। तर यो ५५ वर्षको उमेरमा थियो। लन्डनको क्रोमवेल अस्पतालमा उनको उपचार गरिएको थियो।
राजा वीरेन्द्रको मृत्यु हुने अनुमान गर्दा युवराज दीपेन्द्रको उमेर मात्र १२ वर्षको थियो। यस्तो अवस्थामा दरबारको शक्ति संघर्षमा कस्तो असर पर्ला? ‘राजा वीरेन्द्रको मृत्युले उत्तराधिकारी चयनमा खासै ठूलो समस्या हुने छैन’, सिआइएको रिपोर्टले अनुमान गरेको छ- अधिराजकुमार ज्ञानेन्द्र र रानी ऐश्वर्याबीच नायबी अधिकार कम्तिमा सुरुवाती अवस्थामा भए पनि बाँडिने छ। यी दुवैलाई सिआइएले हार्डलाइनर भनेको छ र उनीहरुले सुधार प्रक्रियालाई रोक्ने भनिएको छ।
उत्तराधिकारी चयनमा दरबारभित्र शक्ति संघर्ष भयो भने चाहिँ सेनाको सहयोगमा ज्ञानेन्द्रले सत्ता हात पार्ने अनुमान सिआइए रिपोर्टमा छ। रिपोर्टले मुमावडामहारानी रत्नको साथ पनि ज्ञानेन्द्रलाई नै रहने अनुमान गरेको थियो। ज्ञानेन्द्रसँग कमान्ड गर्ने क्षमता, कठिन डिलहरु गर्ने क्षमता र पर्सनल लोयाल्टी पनि रहेको रिपोर्टमा उल्लेख छ।
सिआइएका दुई अनुमान जुन गलत ठहरिए
नेपाली समाजको विश्लेषण गर्दै रिपोर्टमा निकट भविष्यमा हिंसात्मक विद्रोह हुने सम्भावना कम रहेको उल्लेख छ। तर सिआइएको अनुमान विपरीत सन् ९० को दशकमा नेकपा माओवादीले हिंसात्मक विद्रोह सुरु गर्यो।
सिआइएले राजाको हत्या भए अस्थायी रुपमा भए पनि सेनाले सत्ता कब्जा गर्ने अनुमान गरेको थियो। सन् २००१ मा राजा वीरेन्द्रसहित राजपरिवारको हत्या भयो तर सेनाले सत्ता कब्जा गरेन। राजतन्त्र हटेर गणतन्त्र आउँदा समेत सेना सक्रिय भएन।