PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

वैदेशिक रोजगारीमा गएका नेपालीलार्इ सरकारको १२ विशेष घोषणा : गम्भिर घाइते भए १८ लाख



पहिलोपोस्ट

वैदेशिक रोजगारीमा गएका नेपालीलार्इ सरकारको १२ विशेष घोषणा : गम्भिर घाइते भए १८ लाख

काठमाडौं : सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीलार्इ लक्षित गरेर १२ वटा विशेष कार्यक्रमको घोषणा गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पत्रकार सम्मेलनमार्फत कार्यक्रम सार्वजनिक गरेका हुन्।

विशेष कार्यक्रममा वैदेशिक रोजगारीमा गएका नेपालीलाई घातक रोग लागेमा उपचारका लागि पाँच लाख रुपैयाँको स्वास्थ्य बीमादेखि  मुत्यु भएमा कल्याणकारी कोषबाट सात लाख रुपैयाँसम्म पाउने सम्मका कार्यक्रम छन्।

वैदेशिक रोजगारीमा गएका नेपाली दुर्घटना वा प्राण घातक रोग लागेर मृत्युभए २० लाख रुपैयाँ पाउने भएका छन्। यसअघि यस्तै प्रकृतिको मुत्युमा १३ लाख रुपैयाँ पाउँथे। वैदेशिक रोजगारीमा रहेका नेपाली दुर्घटनामा परी गम्भिर घाईते भएमा, घातक रोग लागेमा वा कोमामा रहेको अवस्थामा १८ लाख रुपैयाँ र ७ लाख रुपैयाँ कल्याणकारी कोषबाट पाउने उनले बताए। 
 
यसअघि वैदेशिक रोजगारीमा गएका व्यक्ति मुत्यु वा घाइते भएमा कल्याणकारी कोषबाट तीन लाख रुपैयाँ र बीमा वापत १० लाख रुपैयाँ मात्रै पाउँथे। वैधानिक रुपमा वैदेशिक रोजगारीमा जाने नेपालीले एक हजार रुपैयाँ कल्याणकारी कोषमा बुझाउँछन्। यही रकममार्फत वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले विदेशमा मुत्यु वा घाइते भएकालार्इ तीन लाख रुपैयाँ दिँदै आएको थियो।
 
प्रचण्डले आफ्नो नेतृत्वमा सरकार गठन भएदेखिनै विदेशमा रहेका नेपालीको बारेमा चासो लिएको बताउँदै विदेशमा रहे सम्म सुरक्षाको अनुभूती हुने गरी बीमा कार्यक्रम ल्याएको बताए।
 
 
विभिन्न १५ किसिमका घातक रोग लागेमा ५ लाख रुपैयाँ सम्म पाउने गरी स्वास्थ्य बीमा कार्यक्रम ल्याइएको उनले बताए।विभिन्न देशको भ्रमणका क्रममा नेपालीको अवस्था दयनीय देखेपछि केही हदसम्म भएपनि सुरक्षाको अनुभूति दिन विशेष कार्यक्रम ल्याएको बताए।वैधानिक रुपमा खाडी, मलेसिया लगायतका देशमा चालिस लाखको हाराहारीमा नेपाली काम गर्छन्। भारतमा रहेका नेपालीको संख्या अझै ठूलो छ।
 

के छ १२ घोषणामा !

१) स्वास्थ्य बीमा तर्फ पाउँदै आएको सुविधालाई बढाउँदै जीवन बीमा, आयको नोक्सानीका अतिरिक्त मृगौला फेल क्यान्सर जस्ता १५ प्रकारका घातक रोग लागेमा थप ५ लाख रुपैयाँ सम्मको बीमा हुने व्यवस्था गरिएको छ। यो फागुनदेखि कार्यान्वयनमा आउनेछ।
 
२) रोजगारीमा रहँदा दुर्घटनामा परी उपचार गर्न वा मृत्यु भएमा कल्याणकारी कोषबाट पाउँदै आएको ३ लाख रुपैयाँमा ४ लाख रुपैयाँ थप गरी ७ लाख रुपैयाँ पुर्याउने। रोजगारीको सिलसिलामा दुर्घटना परी उपचार गर्न वा मृत्यु भएमा यो रकम दावी गर्न पाउने छन्।
 
३) रोजगारीको लागि भारत जाने सबै वालिग नागरिकहरुको बीमा हुने व्यवस्था गर्न गृह, परराष्ट्र र श्रम मन्त्रालयका प्रतिनिधिसहितको कार्यदल बनाउने।
 
४) बीमाको अवधी सकिएको ३ महिना भित्र विदेशमा रहेका कुनै पनि कामदारको बिरामी, अंगभंग वा मृत्यु भएमा बीमाको स्वत: नवीकरण भएको मानी बीमा दावी भुक्तानी गरिने छ। यो कार्यान्वयनमा आइसकेको छ।
 
५) आगामी तीन महिना भित्र विदेशमा रहेका सम्पूर्ण नेपालीको अनिवार्य बीमा नविकरण गरिने छ।
 
६) फागुन १ गते देखि करार अवधि भन्दा एक वर्ष बढी समयको बीमा कायम हुनेछ। दुर्इ वर्ष करार हुँदा ३ वर्षको बीमा गर्नु पर्नेछ भने ३ वर्ष करार हुनेले ४ वर्षको बीमा गर्नुपर्ने छ।
 
७) विदेशमा मेडिकल फेल भइ स्वदेश फर्केका कामदारलाई मेडिकल गर्ने स्वास्थ्य संस्थाबाट धरौटी लिई ४५ दिन भित्र सरकारी निकाय मार्फत क्षतिपूर्ति दिने।
 
८) जेल सजाय भोगिरहेका, बिरामी भएको कारण कमाउन नसक्ने अवस्थामा रहेका नेपालीको बीमा नविकरण शुल्क सरकारले व्योहोर्ने। यो अवधी पनि ३ महिना सम्म मात्र रहने छ।
 
९) दक्षिण कोरियाबाट शव ल्याउन दिने राहत रकमको व्यवस्थामा परिवर्तन गरी कम गरिने
 
१०) रोजगारीमा जाने कामदारको कल्याणकारी कोषमा मुलुक र आम्दानी समेतलाई दृष्टिगत गरी योगदानपूर्ण सहभागिता गराइने। कामदारको कमाई र करार अवधिको अनुपातमा कल्याणकारी कोषमा धेरै कमाउनेले धेरै रुपैयाँ जम्मा गर्नुपर्ने छ। कोरिया र ईजरायल जाने कामदारलाई लक्षित गरेर कार्यक्रम ल्याउन लागिएको हो।
 
११) बीमा कम्पनीले बीमकको परिवारको चालु अवस्थामा रहेको फोन नम्बर राखी अवधि सकिनु भन्दा एक महिना अघिनै नवीकरणको व्यवस्था गरिने।
 
१२) वैदेशिक रोजगारका क्षेत्रमा भएका व्यवस्थाहरुका बारेमा नियमित रुपमा प्रचार प्रसार गर्ने व्यवस्था मिलाउन  श्रम तथा रोजगार मन्त्रालय, बीमा समिति, तथा वैदशिक रोजगार विभागलाई निर्देशन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell