PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

१५ घन्टामा दुईपटक मृत्युको मुखबाट बाँचेका राई भन्छन्- 'सायद काल पनि मदेखि हारेर फर्कियो'



पहिलोपोस्ट

  • भोजेन्द्र बस्नेत
सोलुखुम्बु : काठमाडौँबाट सदरमुकाम सल्लेरीमा आइपुग्नासाथ जुभिङका देवानसिंह राई सञ्चारकर्मीको खोजीमा निस्किए। उनलाई सुनाउनु थियो- आफूले मृत्युलाई जितेको कथा।
 
चार महिनासम्म राजधानीमा उपचार गराएर घर फर्किएका राई मङ्गलबार साँझ भन्दै थिए, 'मलाई लैजान सक्दो प्रयास गरेको काल रित्तै फर्कियो।’
 
गत असोज ७ गते शनिबार साँझ घाँस काट्न रूख चढेका राई लडे, करिब चार घन्टा बेहोस भएका राईका दुवै हात र एउटा खुट्टा भाँचियो भने कम्मरको हड्डी खुस्कियो। भाग्यले बाँचेका राईलाई उपचारका लागि राजधानी लैजान असोज ८ गते हेलिकप्टर चार्टर्ड गरियो। उनलाई लिएर बिहान करिब ७:३० बजे राजधानी फर्कन लागेको हेलिकोप्टर उडेको केही सेकेन्डमै दुर्घटनामा पर्‍यो।
 
माउन्टेन एअरको नाइनएन अल्फा लीमा क्युबिक कलसाइन भएको हेलिकोप्टर लुक्ला विमानस्थलबाट जुभिङ स्वास्थ्य चौकी आएको थियो। हेलिकोप्टर उडेपछि धुवाँ निस्कियो र पाइलटले कोदोबारीमा लगेर आकस्मिक अवतरण गराए।
क्याप्टेन सुरज थापाले हेलिकोप्टरमै रहेको ग्यासको सहायताले विस्फोट हुनबाट जोगाए। त्यसमा सवार ६ जना नै बाँच्न सफल भए। राई त्यो घटना सम्झँदा अहिले पनि बर्बराउँछन्। १५ घन्टाबीचमा आफू दुईपटक कालको मुखमा पुगेर बाँचेको उनी दोहोर्‍याइरहन्छन्। भन्छन्, 'सायद काल पनि मसँग हारेर रित्तै फर्कियो।'
 
‘टेक अफ’ गर्नेबित्तिकै हेलिकप्टरको ड्यासबोर्डमा इन्जिनमा खराबी देखिएको नोटिफिकेसनको सङ्केत आएपछि क्याप्टेन थापाले फोर्स ल्यान्डिङ गर्न लाग्दा हेलिकप्टर दुर्घटनामा परेको थियो।
 
अगाडिको भाग क्षतिग्रस्त भएको हेलिकोप्टरबाट चालकसहित अरू त तत्कालै भागे तर लडेर घाइते भएका राई भाग्न सकेनन्। 'सबै भागेपछि मैले जोडसँग कराउँदै आफूलाई पनि बाँच्न मन भएकाले निकाल्न आग्रह गरेँ,' उनी त्यो कहालीलाग्दो क्षण सम्झन्छन्, 'केही बेरपछि पाइलट आएर रुँदै केही हुँदैन, अब बाँचियो भन्न थाले, तब मात्र आशा पलायो।' एक घन्टामा अर्को हेलिकोप्टर आएर काठमाडौँ पुर्‍याएपछि मात्र उनको उपचार भयो।
 
नेपाली आकासमा विमान दुर्घटनामा परिसकेपछि बाँचेकाको रेकर्ड नगण्य छ। त्यसैले दुर्घटनापछि नयाँ जीवन पाउँदा आफ्नो शरीर र जीवनको धेरै माया लागेको राई बताउँछन्।
 
दुर्घटनाअघि उनी रोजगारीका लागि विदेश जाने तयारीमा थिए। अहिले भने जस्तो दुःख उनी आफ्नै गाउँमा बस्न चाहन्छन्।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell