- कृष्ण दर्नाल
पाल्पा जिल्ला रामपुर नगरपालिका–१४ बर्दलेका जनार्दन पन्तले कुखुराको भालेको अण्डकोष निकालेर परिवार नियोजन गर्न थालेका छन्। कुखुराको भालेको बन्ध्याकरण गर्ने अभ्यास पाल्पामा नौलो हो। भालेको पछाडिको करङको शल्यक्रिया गरी अण्डकोष निकालेपछि भालेको शिर पोथीको जस्तो हुने र बास्ने भालेको अण्डकोष निकाल्दा बास्न छाड्ने गरेको पन्तको भनाइ छ। भालेको बन्ध्याकरण गर्दा मासुको उत्पादन बढी हुने गर्दछ।
कुखुरापालन गर्ने पन्तले कुखुराको परिवार नियोजन गर्दा मासु एक इन्चसम्म बाक्लो हुने र तौल पाँचदेखि सात किलोसम्म बढ्ने बताए। पहिले कुखुराको अण्डकोष निकाल्न निकै समस्या भए पनि अहिले सहजरुपमा बन्ध्याकरण हुने गरेको उनले बताए।
सुरुसुरुमा केही कुखुरा मरे पनि अहिले कुखुराको शल्यक्रिया सफल भएको उनको दाबी छ। कुखुरा शल्यक्रियापछि चिल्लो हुँदै जाने र यौन क्षमता कमजोर हुँदै जाने उनको दाबी छ । स्थानीय प्रजातिका कुखुरामा मात्र अण्डकोष निकाल्न सम्भव हुने गर्दछ। ब्वायलर प्रजातिका कुखुरामा अण्डकोष निकाल्ने काम भने उनले गरेका छैनन्। पहिले रहरका लागि गरिएको यो काम अहिले अनुसन्धानमूलक भइरहेको उनको भनाइ छ।
नेपाली समाजमा मानिस प्रायः कम सन्तानका लागि परिवार नियोजन गर्न रुचाउँछन्। तर पछिल्ला वर्षमा अनुसन्धानका लागि कुकुरलाई तीनमहिने सुईको प्रयोग र बन्ध्याकरण गरिएको पाइए पनि अहिले कुखुरामा भने नौलो मानिएको हो।
पाल्पाका ग्रामीण क्षेत्रमा गोरु, बोका, सुँगुर र बङ्गुरको अण्डकोष निकाल्ने चलन रहिआएको बूढापाकाहरु बताउँछन्। अण्डकोष निकाल्दा यौन क्षमता कमजोर भई शान्त स्वभावको बढी हुने हुँदा मासुको उत्पादन बढी हुने जानकारहरु बताउँछन्। रासस