काठमाडौँ : सोह्रखुट्टेमा आज बिहान भएको सवारी दुर्घटनामा २२ वर्षीय श्यामबहादुर प्रधानको मृत्यु भएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बा ३ ख ४५७९ नम्बरको टिपर बिहान पौने २ बजे अनियन्त्रित भई सडक छेउमा पार्किङ्ग गरेर राखेको बा १ ज ८८७३ नम्बरको ट्याक्सीमाथि पल्टिँदा च्यापिएर गम्भीर घाइते भएका ट्याक्सी चालक प्रधानको उपचार क्रममा मृत्यु भएको हो।उनलाई उद्धार गरी पिपुल्स मेडिकल कलेज पुर्याइए पनि बिहान सवा ३ बजे उनको मृत्यु भएको हो। दुर्घटनामा संलग्न टिपर चालक फरार छन् भने टिपर नियन्त्रणमा लिएर बग्गिखानामा राखिएको छ।
यस्तै काठमाडौको बनस्थलीमा ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन्। मंगलबार बेलुकी पौने ८ बजे बा २ ज १०५० नम्बरको ट्याक्सीको ठक्करबाट बा ७२ प ४९२ नम्बरको मोटरसाइकल चालक काठमाडौ माछापोखरी बस्ने नुवाकोटका २२ वर्षीय सरोज गडेल रहेका छन्। घाइतेको पिपुल्स मेडिकल कलेजमा उपचार भइरहेको छ। ठक्कर दिने ट्याक्सी सहित चालक महानगरीय प्रहरी बृत्त बालाजुको नियन्त्रणमा छ।