काठमाडौं : प्रतिनिधिसभा निर्वाचनमा कति प्रतिशत थ्रेसहोल्ड राख्ने ? राष्ट्रिय दलको मान्यता पाउन कति प्रतिशत मत आवश्यक पर्ने ? यतिबेला संसदीय समितिमा बहस जारी छ।
कम्तीमा डेढ प्रतिशतदेखि पाँच प्रतिशतसम्मका बिकल्पमा छलफल भइरहेको छ। तर, थ्रेसहोल्ड यति नै रहन्छ भन्ने सहमति भइसकेको छैन। राज्य व्यवस्था समिति मातहतको आनन्द ढुंगाना संयोजक रहेको उपसमितिले थ्रेसहोल्डको विषय टुंग्याउन सकेको छैन।
उपसमितिमा विवाद नमिलेपछि एकैपटक दफावार छलफलका लागि पठाइएका दुई विधेयक संसदवाट पारित हुने चरणमा पुग्दा राजनीतिक दलसम्वन्धी विधेयक उपसमितिमा नै छ। विधेयकमा अव एक पटक शीर्ष नेताहरुसँग परामर्श गरी टुंग्याउने पक्षमा उपसमिति छ।
उपसमिति सदस्य रेखा शर्माले शीर्ष नेताहरुसँग परामर्शपछि निर्णयमा पुग्ने बताइन।
थ्रेसहोल्ड कम्तीमा तीन प्रतिशतसम्म राख्न ठूला दलहरुको एकमत छन्। तर, साना दलहरुको बिरोध छ।
कांग्रेस एमाले पक्षमा, साना दल बिपक्षमा
थ्रेसहोल्ड कम्तीमा तीन प्रतिशत राख्नुपर्नेमा कांग्रेस एमाले छन्। माओवादी केन्द्रले साना दलहरुलाई समेत मनाएर दुई प्रतिशतसम्म थ्रेसहोल्ड राख्ने पक्षमा छ। मधेश केन्द्रित दलमध्ये उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र बिजय गच्छदारको फोरम लोकतान्त्रिक थ्रेसहोल्डको पक्षमा छ।दुवै मधेशकेन्द्रित दलहरु दुई प्रतिशतसम्म थ्रेसहोल्डको पक्षमा छन्। दुवै दलले कांग्रेस एमालेको प्रस्तावलाई पनि अस्वीकार गरेका छैनन्। तर, अन्य मेधेशी दल थ्रेसहोल्डको विपक्षमा छन्। नेपाल मजदुर किसान पार्टीले थ्रेसहोल्ड ‘निरंकुश व्यवस्थाको झलक’ भएको समितिमा बताउँदै आएको छ। विवादका कारण थ्रेसहोल्डबारे उपसमिति अझै निश्कर्षमा पुग्न सकेको छैन।
प्रमुख वा उपप्रमुखमध्ये एक महिला अनिवार्य
बिचाराधीन स्थानीय तह निर्वाचनसम्वन्धी विधेयकमा सहमति गर्दै उपसमितिले गाउँपालिका र नगरपालिकाको निर्वाचनमा प्रमुख र उपप्रमुखमध्ये एक महिला उम्मेद्वार अनिवार्य गरेको छ।निर्वाचन आयोगले गरेको प्रस्ताव सरकारले हटाएपनि संशोधनमार्फत उपसमितिले एक महिला उम्मेद्वार अनिवार्य गरेको हो। अवका गाउँपालिका, नगरपालिका, र जिल्ला सभामा प्रमुख वा उपप्रमुखमध्ये एक उम्मेद्वार महिला अनिवार्य हुनुपर्नेछ।