PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

सगरमाथा जाने पुल निर्माणको काम अझै सुरु भएन



पहिलोपोस्ट

सोलुखुम्बु : उपभोक्ता समिति बनेको १८ महिना बितिसक्दासमेत विश्वको सर्वोच्च शिखर सगरमाथा जाने मुख्य पदमार्गमा पर्ने इम्जा खोलामाथिको पुल निर्माण कार्य अलपत्र बनेको छ।

दिबुचेबाट पाङबोचेतर्फ जाने बाटोमा पर्ने सो स्थानमा झोलुङ्गे पुल निर्माणका लागि जिल्ला विकास समिति र इम्जा खोला झोलुङगे पुल निर्माण उपभोक्ता समितिबीच २०७२ जेष्ठ १० गते सम्झौता भएको थियो। २०७३ असार २० गते सम्पन्न गर्ने गरी सम्झौता भएको उक्त योजनाको अहिलेसम्म कुनै काम हुनसकेको छैन।

सो पुल सम्पन्न गरिसक्ने अन्तिम मितिसमेत गुज्रिएको सात महिना बितिसकेको छ। योजनाका लागि पहिलो किस्ताको रकम जिविसिबाट लगेपछि अहिलेसम्म उपभोक्ता समितिका पदाधिकारी जिविसको सम्पर्कमा आएका छैनन्। पहिलेको झोलुङ्गे पुल पहिरोमा परी भाँच्चिएपछि नयाँ पुल निर्माणका लागि योजना निर्माण गरिएको थियो।

उपभोक्ता समितिसँग रु ५० लाख ४२ हजारमा सो योजना सम्झौता भएको थियो । ६८ मिटर लामो सो पुल निर्माण नहुँदा खुम्बु भ्रमणमा जाने पर्यटक जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। गएको वर्षातमा सोही स्थानबाट खोलामा खसेर एकजना विदेशी पर्यटक बेपत्ता भएका थिए।

सँगै सम्झौता गरिएको चौरीखर्कको पुल निर्माण भएर प्रयोगमा आइसक्दा पनि उक्त पुल निर्माणको सुरसार नहुँदा स्थानीय वासिन्दा र पदमार्गमा हिँड्ने पदयात्री खिन्न भएको पथप्रदर्शक तिलक बस्नेतले गुनासो गरे।

यता जिल्ला प्राविधिक कार्यालय सोलुखम्बुका प्रमुख इन्जिनियर पुष्करप्रसाद पोख्रेलले भौगोलिक कठिनाइकै कारण अनुगमनमा जान नसकिएको बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell