काठमाडौं : फुटबल खेलका लागि चर्चित काठमाडौंको संकटा क्लबले अब राष्ट्रिय स्तरको तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने भएको छ।
क्लबले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आगामी शनिबार र आइतबर राष्ट्रिय आमन्त्रण संकटा रनिङ शिल्ड तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने जानकारी गराएको हो।
फुटबलबाहेक क्रिकेट, एथ्लेटिक्स, चेस, बक्सिङ लगायतका खेलमा आफ्नो पहिचान कायम गरिसकेको क्लबले पहिलो पटक तेक्वान्दो प्रतियोगिता गर्न लागेको हो। यसअघि संकटाले गत वर्ष असोजमा काठमाडौं जिल्लाव्यापी तेक्वान्दो आयोजना गरेको थियो।
काठमाडौंको टेबाहलमा दुई दिलन सञ्चालन हुने प्रतियोगितामा पाँच विकास क्षेत्र, तीन विभागीय टीम र आयोजकको टीम गरी कूल ९ टोलीका खेलाडीको सहभागिता रहनेछ। प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ समान ६ तौल समूहमा प्रतिपर्धा गराइनेछ।
महिलातर्फ ४२, ४६, ४९, ५३, ५७ र ६२ केजी तौलसमूहमा प्रतिस्पर्धा हुनेछ भने पुरुषतर्फ ५४, ५८, ६३, ६८, ७३ र ७७ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ।
महिला र पुरुष दुवैतर्फ ५४/५४ खेलाडीले प्रतिस्पर्धा गर्ने संकटा क्लबका महासचिव रमेश बस्नेतले बताए। उनका अनुसार प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान हात पार्ने टीमलाई क्रमशः ३०, २५ र १५ हजार प्रदान गरिनेछ। ' तेक्वान्दोमा यो हाम्रो पहिलो प्रयास हो पुरस्कार भन्दा पनि सफल रुपमा सञ्चालन गर्नु हाम्रो लक्ष्य हो।' बस्नेत भने।
टाइटल स्पोन्सर गरेको मित्सुबिसुले प्रतियोगितालाई ५ लाख नगर प्रदान गर्ने मित्सुबिसुका नेपालको आधिकिारिक बिक्रेता लियोन मोटर्सका सिओओ उपेन्द्र नापितले बताए।
यस्तै प्रतियोगिता सम्पन्न गर्न करिब १७ लाख खर्च हुने महासचिव बस्नेतले जनाए।