PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

लिटरेचर फेस्टिवल माघ १४ देखि पोखरामा



पहिलोपोस्ट

लिटरेचर फेस्टिवल माघ १४ देखि पोखरामा

पोखरा : यस वर्ष नेपाल लिटरेचर फेस्टिभल (नेपाल साहित्य महोत्सव) यही माघ १४ गतेदेखि पोखरामा सुरु हुने भएको छ।

बुकवर्म फाउण्डेसनको आयोजनामा सञ्चालन हुने यो महोत्सव माघ १४ देखि १७ गतेसम्म चल्नेछ। यस महोत्सवमा ४० वटा सत्रमा लगभग १०० जना वक्ता, लेखक, समाजशास्त्री, राजनीतिज्ञ, कलाकर्मी र विचारकहरुले विभिन्न विषयमा छलफल गर्ने कार्यक्रम तय भएकाे छ।

नेपाल पर्यटन बोर्ड, पोखराको प्राङ्गणमा आयोजना हुने यस महोत्सवको प्रतिक्षित सत्रमा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको विशेष प्रहसन रहेको छ। अन्तर्राष्ट्रिय लेखक दुर्जोय दत्त, समाजशास्त्री र इतिहासकार रामचन्द्र गुहा तथा हिन्दी भाषामा लेखेर ख्याति कमाएका आख्यानकार उदय प्रकाश पनि यस महोत्सवमा सहभागी हुनेछन्। यस महोत्सवमा कला प्रदशर्नी, पुस्तक हस्ताक्षर, कविता र गजलका सत्रहरू पनि सञ्चालित हुनेछन्।

पोखरामा आयोजित पत्रकार सम्मेलनमा महोत्सवबारे आफ्नो योजना तथा धारणा राख्दै यसका निर्देशक अजित बरालले भने, ‘यो चार दिनको चाडका माध्यमबाट हामीले पोखराको साहित्यिक सहरको चिनारीलाई थप उजागर गर्न र पर्यटनमा पुर्याउन पनि खोजेका हौँ। हाम्रो ध्याउन्न साहित्यिक क्षेत्रका सिमानालाई फराकिलो पार्ने हो।’
 
गत वर्षको महोत्सव पनि बुकवर्मले पोखरामा नै आयोजना गरेको थियो। कला, साहित्य, समाज तथा संस्कृतिलाई समेटेर बुकवर्म फाउण्डेसनले सन् २०११ देखि मनाउँदै आएको यस महोत्सवले विभिन्न विधा र विषयहरुमा छलफल र अन्तर्क्रियाका निम्ति मञ्च प्रदान गर्दै आएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell