काठमाडौं : नेपालका लागि भारतीय राजदूत रणजित रायलेे नेपालको आन्तरिक मामिलामा भारतले हस्तक्षेप नगरेको दावी गरेका छन्। भारतले नेपालको आन्तरिक मामिलामा कहिल्यै हस्तक्षेप नगरेको र नेपालीको मनमा समेत भारतले हस्तक्षेप गरेको भावना नरहेको उनले दावी गरे।
'नेपालमा हस्तक्षेप गरेर भारतलाई के फाइदा हुन्छ?’ नेपालमा आफ्नो कार्यकालको अन्तिम चरणमा रहेका उनले भने' नेपालमा अस्थिरता भए भारतलाई के फाइदा हुन्छ।'
बुधबार रिपोर्टर्स क्लबमा रायले नेपाल भारतको सम्बन्धमा कुनै समस्या नरहेको र नेपालमा भारत विरोधी भावना नभएको दावी गरिरहँदा संसदमा केही सांसदहरु भने एयरमार्शल राखेर भारतले नेपालको सार्वभौमसत्तामाथी आक्रमणको प्रयास गरेको भन्दै आलोचना गरिरहेका थिए।
'काठमाडौंका केही राजनीतिक भाषणमा यस्तो कुरा सुनिए पनि नेपाली जनतामा यस्तो विरोधी भावना छैन’, उनले दावी गरे। उनले नेपाललाई फाइदा नहुने कुरा, भारतलाई पनि फाइदा नहुने भन्दै भारतले नेपालको हरेक परिवर्तनको पक्षमा साथ दिएको इतिहास सुनाए।
उनले नेपाल–भारत सम्बन्ध देश–देशबीचको सम्बन्ध मात्रै नभएर व्यक्ति–व्यक्तिबीचको सम्बन्ध भएको बताए। नेपाल–भारत द्धिपक्षीय सम्बन्ध अब सामाजिक, साँस्कृतिक, धार्मिकका साथसाथै आर्थिक साझेदारीमा केन्द्रित गर्नुपर्ने उनको धारणा थियो।
‘आर्थिक साझेदारीका सुरुवातहरु भैसकेका छन्, पञ्चेश्वर महायोजनाको कार्यान्वयन हुँदैछ, यसको डिपीआर अन्तिम चरणमा पुगेको छ, यही वर्षको मध्यतिर यो योजना लागुहुने बित्तिकै पूरै नेपालमै विकासको तरङ्ग पैदा हुन्छ’ उनले भने। माथिल्लो कर्णाली, अरुण तेस्रो परियोजना पनि अघि बढिरहेको उनले बताए।
भारतले ट्रान्समिसन लाइन बनाएर नेपालमा लोडसेडिङ अन्त्य गर्न सहयोग गरेको र अब रक्सौल–परवानीपुर र कुशाहा–कटैया अन्तरदेशीय ट्रान्समिसनको काम अन्तिम चरणमा रहेको उनले बताए। अबको दुई हप्ताभित्रै भारतबाट थप सय मेगावाट बिजुली नेपाल आउने उनले जानकारी दिए।
नेपालको संविधान संशोधन प्रक्रियालाई भारतले कसरी हेरेको छ भन्ने पत्रकारको प्रश्नमा उनले ‘समस्या समाधान होस् भन्ने हाम्रो चाहना हो, तर कसरी गर्ने, के गर्ने भन्ने कुरा नेपालकै राजनीतिक दलहरुले गर्ने कुरा हो भनेका थिए।