PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

प्रहरीमाथि महान्यायाधिवक्ताको आरोप : कानुन हेर्ने हैन हिरोगिरी देखाउने रोग बढ्यो



सविन ढकाल

प्रहरीमाथि महान्यायाधिवक्ताको आरोप : कानुन हेर्ने हैन हिरोगिरी देखाउने रोग बढ्यो

काठमाडौं : 'कानुन मिचेर प्रहरी अहिले हिरो हुने काम मात्र गरिरहेको छ। पक्राउ गर्न पाएको छैन पत्रकार सम्मेलन गर्न हतारिइहाल्छन्। संविधानमा के छ, कानुन के छ केही मतलव छैन। कसरी पपुलर हुने प्रहरीको दिमागमा त्यही मात्रै छ। अब यो प्रथा बन्द नगरी हुन्न।'

कार्यक्रम थियो आरोपी पक्राउ र अनुसन्‍धानमा सघाउने निकाय प्रहरी र अनुसन्धानमा प्राप्त प्रमाणको आधारमा अभियोजन गर्ने सरकारी वकिलवीचको सम्बन्ध सुधार्न आयोजित राष्ट्रिय सम्मेलन। बुधबार सम्मेलनको उद्घाटन कार्यक्रममा महान्यायाधिवक्क्ता रमनकुमार श्रेष्ठ प्रहरी कानुनभन्दा हिरोगिरी बन्ने रोग बढेको भन्दै खनिए।

श्रेष्ठ रोष्टममा उभिएर प्रहरीको कार्यशैलीबिरुद्ध खनिदा मञ्चमा थिए नेपाल प्रहरीका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललगायतका अधिकारीहरु। श्रेष्ठले प्रहरीको आलोचना गरिरहँदा हलमा रहेका अन्य प्रहरी अधिकारी र सरकारी वकिल समेत मौन थिए।

प्रहरीको शैलीबिरुद्ध खनिएपछि श्रेष्ठ सरकारी वकिलतिर केन्द्रित भए।

उनले प्रहरीमा रहेको हिरोगिरी अहिले अदालतका न्यायाधीशहरुमा सर्न थालेको भन्दै आलोचना गरे। 'फैसला गर्ने बितिकै पत्रकार सम्मेलन गर्ने प्रथा न्यायाधीशमा पनि सर्न थालेको छ। यो राम्रो हैन' उनले भने।

अनुसन्धानका लागि भएको कानुनी व्यवस्था अनुसार अपराधका आरोपी पक्राउ परे लगत्तै सरकारी वकिलले अनुसन्धान अधिकारी तोक्नुपर्छ। प्रहरीले अनुसन्धानमा सघाउने मात्रै हो। तर यो कानुनी प्रावधान व्यवहारमा कार्यान्वयन हुन सकेको छैन। सरकारी वकिल नाम मात्रैको अनुसन्धान अधिकारी हुन्छन्। अनुसन्धानको सबै प्रक्रिया प्रहरीले पूरा गरेर प्रस्तावित राय सुझाव बुझाएपछि सरकारी वकिलले त्यसैलाई आधार बनाएर आफु अनुकुल पुनर्लेखन मात्रै हुने गरेको छ।

प्रहरीले अनुसन्धान सकाएर संगठित अपराधको अभियोग समेत प्रस्ताव गर्दा केही सरकारी वकिलबाट नियतवश प्रस्ताव हटाएर अभियोग पत्र दर्ता गर्ने,आदेश आउँदा मुख्य आरोपीलाई धरौटी र सहयोगीलाई पूर्पक्षका लागि थुनामा आदेश आउँदा आलोचना हुने गरेको छ।

श्रेष्ठ त्यतातिर धेरै केन्द्रित भएनन्। उनले अनुन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलवीच समन्वयको अभाव भएकाले अपराधी उम्कने गरेको दावी गरे ।
 
अपराधी उम्किएपछि प्रहरीले सरकारी वकिल र सरकारी वकिलले प्रहरीलाई दोष देखाएर पन्छने गरेको उनले बताए। उनले पछिल्लो समय सरकारी वकिल र प्रहरीको संलग्नताका काम भईरहेकाले सुन तस्करीको भरियामात्रै नभई मुख्य कारोवारीसम्मै पुग्ने अवस्था रहेको दावी गरेका थिए।

कार्यक्रममा प्रहरी महानिरीक्षक अर्यालले प्रहरी र सरकारी वकिलका विचमा एकले अर्कोलाई दोषारोपण गर्ने कुरा सत्य भएको स्वाकार गरे। अपराधीहरु कमिसनको खेलमा नभई केहि कानुनी समस्या पर्दा उम्कने गरेको उनले दावी गरे।

१४ गते देखी १६ गतेसम्म आयोजना हुने सम्मेलनले दोषारोपण गरेर उम्कने अवस्था अन्त्य गर्ने विषयमा छलफल गर्नुपर्ने अर्यालले बताए।
सम्मेलनले सरकारवादी फैजदारी मुद्धाको अनुसन्धान र अभियाजनको विद्यमान अवस्थाको समीक्षा गर्दै समधान खोज्ने, अपराध अनुसन्धान र अभियोजनमा देखिएका समस्या र चुनौतीको सम्वोधन गर्नका लागि साझा धारण बनाउने बिषय छलफलमा राखिएको छ। सम्मेलनमा २ सय ३५ जना नेपाल प्रहरी, २ सय ५० जना सरकारी वकिलसहित ५ सय ३५ जना सहभागि छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell