काठमाडौं : खुकुरी च्यालेन्जर्स टी २० क्रिकेट प्रतियोगिताको क्वाटरफाइनल समिकरण पुरा भएको छ। मंगलबार भएको समूह चरणका बाँकी खेलहरुमा बालुवाटार क्रिकेट क्लब, मकवानपुर क्रिकेट क्लब र टिप टप विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेका हुन्।
बालुवाटार लायन क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै समूह सी को उपविजेता बन्यो। यसअघि तीन खेल जित्दै रोएस पिसी फाइटर समूह सी को विजेता बन्दै अन्तिम आठमा प्रवेश गरिसकेको छ।
लायन क्लबले दिएको १०५ रनको लक्ष्य बालुवाटारले १४.३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो। बालुवाटारको जितमा रोहित पौडेल र उज्जवल ढकालले समान ३४ रन बनाए।
यस्तै रोमाञ्चक खेलमा केसीटीसीलाई १ रनको झिनो अन्तरले पराजित गर्दै मकवानपुर क्रिकेट क्लब समूह ए को उपविजेता बन्यो। आदिल खानको नटआउट ३० रनको मद्दतमा मकवानपुरले निर्धारित १८ ओभरमा ९ विकेट गुमाउँदै १०९ रन बनाएको थियो।
११० रनको लक्ष्य पछ्याएको केसीटीसीएले १८ ओभरमा ९ विकेट गुमाएर १०८ रन मात्र बनाउन सक्यो। केसीटीसीका लागि सुमित महर्जले सर्बाधिक २७ रन बनाएपनि जितका लागि पर्याप्ट भएन। मकवानपुरका लागि हरिशंकर शाहले ३ विकेट लिए।
यसअघि नै सुरक्षा क्रिकेट क्लब समूह ए को विजेता बन्दै कवाटरफाइनलमा पुगिसकेको छ।
यता समूह डी को खेलमा टिपटपले पुल्चोकलाई १० विकेट हरायो। प्रकाश विष्टले नटआउट ३९ रन बनाएपछि टिपटपले ६३ रनको लक्ष्य मात्र ४ ओभरमा कुनै विकेट नगुमाई पुरा गर्यो। जितसँगै टिपटप समूह डी को विजेता बन्यो भने नेपाल क्रिकेट स्कुल उपविजेता बन्यो।
क्वाटरफाइनलमा अब समूह ए को विजेताले समूह डी को उपविजेता, समूह बी को विजेताले समूह सी को उपविजेता, समूह सी को विजेताले समूह बी को उपविजेता तथा समूह डी को विजेताले समूह ए को उपविजेतासँग खेल्नेछ।