
काठमाडौं : साबिक बिजेता नेपाल आर्मी र उपबिजेता पुलिस प्रधान सेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।
बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा आर्मी पश्चिमाञ्चल विकास क्षेत्रलाई ३–० को सोझो सेटमा पराजित गर्यो। लगातार दोस्रो पटक फाइनल पुग्ने क्रममा आर्मीले पश्चिमाञ्चललाई २५–१७, २५–१९ र २५–१६ को सेटमा हरायो।
ललितपुरको लगनखेलस्थित नेपाली सेनाको शारीरिक सुगठन तथा फिटनेस सेन्टरको कभर्डहलमा सञ्चालन भइरहेको प्रतियोगिताको दोस्रो सेमिफाइनलमा पुलिसले सशस्त्र प्रहरीको एपीएफलाई प्रतिस्पर्धात्मक खेलमा ३–२ को सेटमा स्तब्ध पार्यो।
अत्यन्त प्रतिस्पर्धात्मक खेलमा लगातार दुई सेट जितेर पनि एपीएफले खेल गुमाउनु पर्यो । पहिलो सेट २७–२५ ले जितेको एपीएफले दोस्रो सेट २५–२१ ले सहजै जितेको थियो। तर त्यसपछि पुलिसले उत्कृष्ट कमब्याक गर्दै लगातार तीन सेट जित्यो। पुलिससले तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पा¥यो। तेस्रो सेट जितेर हौसिएको पुलिसले चौथो सेट पनि २५–१८ ले जित्यो। निर्णायक तथा पाँचौं सेट पुलिस १५–७ ले जित्दै फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो।
दुई विभागीय टोलीबीचकोे उपाधि भिडन्त शुक्रबार हुनेछ भने बिहिवार पश्चिमाञ्चल र एपीएफबीच तेश्रो स्थानका लागि खेल हुनेछ।
प्रतियोगिताको विजेताले नगद ३ लाख प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ५० हजार र तेस्रो हुनेले ७५ हजार पुरस्कार हात पार्नेछ।
उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेण्डर, लिफ्टर र कोचले पनि १०/१० हजार नगद पुरस्कार पाउने छन् भने प्रतियोगिताभरिकै उत्कृष्ट खेलाडीलाई पल्सर मोटरसाइकल प्रदान गरिनेछ।