PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

​करोडौंको जडीबुटी तस्करीबाट रोकियो, तस्कर फरार प्रशासन मौन



पहिलोपोस्ट

बाजुरा : जिल्लाको सम्पत्तिका रुपमा रहेको जडीबुटी अवैध रुपमा निकासी भइरहँदा सम्बन्धित निकाय मौनता साँधेर बसेका छन्। पटक–पटक अवैध रुपमा करोडौँको नोक्सानी हुने गरी ठेकेदारले ५५ खाले जडीबुटी निकासी गर्दा पनि कुनै चासो नदेखाइएको स्थानीयवासीले बताउने गरेका छन्। 

गत मङ्सिर २६ गते जिल्ला प्रहरी कार्यालय बाजुरा र इलाका वन कार्यालय कोल्टीको संयुक्त टोलीले अवैध रुपमा निकासी गर्न लागेको जानकारी पाएपछि ती जडीबुटी बरामद गरिएको थियो। 

जिल्लाका उत्तरी भेगबाट अवैध रुपमा संकलन गरिएको ​करोडौं मूल्यको जडीबुटी निकासी हुन लाग्दा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। प्रहरी कार्यालयका अनुसार अवैध जडीबुटी बरामदपछि जिल्ला वन कार्यालयअन्तर्गत इलाका वन कार्यालयलाई बुझाइएको थियो। 

जडीबुटी निकासी गर्न खोज्ने दशजना ठेकेदारका नाममा पक्राउ पुर्जी काटिएको एक महिना बितिसक्दा पनि उनीहरु पक्राउ नपरेको जिल्ला वन कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख मनकुमार छन्त्यालले बताए। उनले पक्राउ पुर्जी दिएको एक महिनासम्म पनि पक्राउ गर्न नसकेको स्वीकार गरे। 

अवैध रुपमा करोडौँ जडीबुटीको कारोबार गर्ने ठेकेदारलाई राजनीतिक संरक्षण दिइएका कारण पक्राउ नगरिएको एक स्रोतले जनाएको छ। 

जिल्ला वन कार्यालयको मातहतमा रहेको इलाका वन कार्यालय कोल्टीले मङ्सिर २६ गते कोल्टी र दानसाँघु बजारबाट रु एक करोड ७९ लाख बढी मूल्यको जडीबुटी बरामद गरेको थियो। विशेष सुराकीका आधारमा जडीबुटी बरामद गरिएको हो। प्रहरीले २७ हजार केजी जटामसी, एक सय केजी चिराइतो र ८० केजी कटुकी गरी २८ हजार एक सय ८० केजी जडीबुटी बरामद गरेको थियो। 

वन कार्यालयले नौ हजार सात सय केजी जडीबुटी सङ्कलनको अनुमति दिएकामा ठेकेदारले चार गुणा बढी ३६ हजार सात सय केजी जडीबुटी सङ्कलन गरेको देखिएको छ। सङ्कलनमा संलग्न १० जना ठेकेदारविरुद्ध अनुसन्धान सुरु गरिएको निमित्त वन अधिकृत छन्त्यालले बताए। 

वन कार्यालयले ठेकेदार सुरतबहादुर शाही, बिर्ख भण्डारी, धनबहादुर छन्त्याल, विष्णुप्रसाद सञ्ज्याल, मङ्गल थापा, बिर्ख रावल, गणेश रावल, राजेन्द्र शाही, नवीनकुमार शाही र दीपक रेग्मीविरुद्ध अनुसन्धान गरिरहेको छ। 

ठेकेदारलाई बचाउन राजनीतिक दलले दबाब दिँदै आएको बुझिएको छ। जडीबुटी व्यवसायी र जिल्ला वन अधिकृत वेसेन्द्रराज सुवेदीबीच पाँच लाखको लेनदेनमा कुरा नमिलेका कारण जिल्ला वन अधिकृत रातारात जिल्ला छाडेर गएको बताइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell