
कुवेत सिटी : विभिन्न जघन्य अपराधमा संलग्न आरोपित अपराधीहरुलाई कुवेतले मृत्युदण्डको सजाय दिनेगरी केही पहिले सुनाएको फैसला कार्यान्वन गरिएको छ।
मृत्यु दण्डको सजाय पाउने सात जना अपराधीमध्ये राजपरिवारका एक जना सदस्य पनि परेका छन्।
केही अघि विभिन्न समयमा ती अपराधीहरुले चालीस जना भन्दा बढी मानिसहरुका ज्यान लिएका थिए।
सजाय पाउने सबै अपराधीलाई आज एकमुष्ट झुण्ड्याएर मारिएको छ। तेल धनी यस मुलुकमा धेरै वर्षपछि पहिलो पटक यसरी मृत्युदण्डको सजाय कार्यान्वन गरिएको हो।
मृत्युदण्डको सजाय पाउने सात जना अपराधीमा एक जना बङ्गलादेशी, एक जना फिलिपिन्सको, एक जना इथियोपियाली, दुई जना इजिप्टेली र दुई जना कुवेतकै नागरिकसमेत रहेका सरकारी स्वामित्वको ‘कुना’ समाचार समितिले जनाएको छ।
मृत्युदण्डको सजाय पाउने कुवेतकै नागरिकहरुमा राजपरिवारको एकजना सदस्यको नाम फैजल अब्दुल्लाह अल जबर अल सबाह भन्ने खुलासा गरिएको छ।
विज्ञप्तिमा जनाइएअनुसार आम नरहत्यालाई प्रत्यक्षरुपले सघाएको र अबैध बन्दुकलगायतका हातहतियार गैरकानुनी रुपमा आफ्नो स्वामित्वमा राखेको आरोप उनीहरुलाई प्रमाणित भएको थियो।
त्यस्तै कुवेतकै नागरिक अर्की महिला नासरा अल एनेजीलाई पनि प्रत्यक्षरुपले आम नरहत्या गरेको आरोपमा सन् २०१० मै मृत्युदण्डको सजाय सुनाइएको थियो ।
सन् २००९ मा आफ्ना पतिले दोस्रो विवाह गरेकोमा आबेगमा आई नासराले प्रीतिभोज मनाउन सजाइएको पालभित्र आगो सल्काई दिएकी थिइन्। आगोको लप्कामा परी अतिथि, महिला तथा बालबालिकासमेत ४० जनाभन्दा बढी सोही पालभित्रै जलेर मरेका थिए।
मृत्युदण्डको सजाय पाउने एकजना फिलिपिनी महिलाको नाम जाकातिया पावा भएको फिलिपिन्सका विदेश मन्त्रालयको प्रवक्ताले जानकारी दिएका छन्।
पावालाई घरेलु कामदार भई आफू नोकरी गरेर बसेको घर मालिकको छोरीको हत्या गरेको आरोप लागेको थियो।
जाकातिया पावाको दाजु ग्यारी पावा फिलिपिन्सको वायुसेनाका लेफ्टिनेन्ट कर्णेल पदमा कार्यरत छन्। उनले जाकातियालाई आम माफी दिलाउने सम्बन्धमा पहल गरिदिन फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेसम्म कुरा पु¥याए ।
फिलिपिन्सको राष्ट्रपतिको कार्यालयले पनि जाकातियालाई मृत्युदण्डको सजायबाट माफी दिलाउन याचना गर्दै कूटनैतिकस्तरबाट सक्दो प्रयास ग¥यो। तर, कुवेती सरकार तथा अदालतले आफ्नो फैसला र देशको कानुन कार्यान्वयन गर्ने सम्बन्धमा कुनै सम्झौता गर्न नमानेको कुरा फिलिपिन्सको राष्ट्रपतिको कार्यालयका प्रवक्ता अर्नेस्टो एबेल्लाले बताए। रासस÷एपी