
काठमाडौं : उच्च अदालतको न्यायाधीश नियुक्तिमा असन्तुष्टि जनाउँदै बहस बहिष्कार गरेका सरकारी वकिल आजबाट बहसमा फर्किएका छन्।
मंगलबार महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ र कानुनमन्त्री अजयशंकर नायकबीच भएको सहमति अनुसार बुधबारबाट बहसमा फर्किने भनिए पनि न्याय परिषद्ले लिखित प्रतिबद्धता नजनाएको भन्दै सरकारी वकिलले चौथो दिन पनि बहिष्कार कायमै राखेका थिए।
लगातार चार दिनसम्म सरकारी वकिलले न्याय सम्पादनमा अवरोध गरेपछि प्रधानन्यायाधीश सुशीला कार्कीले समन्वय गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत सहयोग मागेकी थिइन्।
महान्यायाधिवक्ता श्रेष्ठको बलियो समर्थन पाएका सरकारी वकिलको आन्दोलन श्रेष्ठले मात्र मिलाउने सक्ने भन्दै प्रधानन्यायाधीशले प्रधानमन्त्री भेटेकी थिइन्। भेटपछि प्रधानमन्त्रीले कानुनमन्त्रीलाई महान्यायाधिवक्तासँग छलफल गर्न निर्देशन दिएका थिए। सो निर्देशनपछि श्रेष्ठ र नायकबीच संवाद भएको थियो।
बेञ्च बहिष्कारको नेतृत्व गरिरहेको नेपाल निजामती कर्मचारी युनियन महान्यायाधिवक्ताको कार्यालयका अध्यक्ष भरत मैनालीले आजबाट सरकारी वकिल काममा फर्किएको बताए। अब हुने न्यायाधीश नियुक्तिमा सरकारी वकिललाई सम्मानजनक स्थान दिने सहमतिपछि उनीहरु काममा फर्किएका हुन्।
श्रेष्ठ र नायकबीचको सहमतिलाई न्याय परिषद्ले बुधबार औपचारिक रुपमा निर्णय गरेको छ। परिषद्ले नियुक्तिमा त्रुटि भएको भन्दै अबदेखिको नियुक्तिमा सरकारी वकिललाई सम्मानजनक स्थान दिने प्रतिबद्धता पनि जनाएको छ।
परिषदले निर्णय सच्याए पनि सरकारी वकिलले न्यायाधीश नियुक्ति विरुद्धको रिटमा प्रतिरक्षा नगर्ने अडान कायमै राखेका छन्। उनीहरुले आन्दोलन स्थगनमात्र भएको बताएका छन्।
चार दिनदेखि सरकारी वकिलले जिल्ला अदालत, उच्च अदालत र सर्वोच्चमा बहस बहिष्कार गरेका थिए। यस्तै न्यायाधीकरणमा समेत सरकारी वकिल बहसमा गएनन्। चार दिन बहस बहिष्कार गर्दा सर्वोच्चमा मात्र एक सय ५० भन्दा बढी सरकारवादी मुद्दा स्थगित भएका थिए।
पुस २८ गते उच्च अदालतमा भएको न्यायाधीश सिफारिसमा एक सरकारी वकिलबाट एक जना मात्र परेका थिए। सरकारी वकिलबाट नायव महान्यायाधिवक्ता राजेन्द्र सुवेदीमात्र सिफारिसमा परेका थिए। एक जनामात्र सिफारिसमा परेपछि महान्यायाधिवक्ता कार्यालय मातहतका ट्रेड युनियनले निर्णय सच्याउन माग गरेका थिए।
तर, सरकारी वकिल र परिषद् सदस्य, र नेपाल बार एसोसिएशनको विरोधबीच न्यायाधीशको शपथ भएको थियो। शपथपछि सरकारी वकिलले बेञ्च बहिष्कार गरेका थिए।