जुम्ला : नौ महिनादेखि उपकुलपतिविहीन बनाइएको भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले उपकुलपति नियुक्त गर्न अझै ढिलाइ गरिए सेवा ठप्प गर्ने चेतावनी दिएको छ।
प्रतिष्ठानका नर्सिङ डिन गायत्री राईको अध्यक्षतामा यहाँको मेडिकल डाइरेक्टर, चिकित्सक तथा कर्मचारी सहभागी बैठकले सेवा बन्द गर्ने चेतावनी दिएको हो। जुम्लामा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी एक साताभित्र पदाधिकारी नियुक्त नगरिए प्रतिष्ठान केन्द्रीय कार्यालयको अस्पताल, प्रशासन, प्राज्ञिक, आर्थिक, शैक्षिक तथा दैनिक कार्यालय सञ्चालन ठप्प गर्ने कुरा सार्वजनिक गरिएको छ।
प्रतिष्ठानका प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीले पत्रकारमाझ सेवा ठप्प गर्ने कुरा सार्वजनिक गरिएको र अपिलमार्फत् सहकुलपतिलाई जानकारी गराइएको बताए। 'गएको असोज १४ लिखित रुपमा कार्यबाहक उपकुलपतिको जिम्मा पाएका डा. धर्मराज श्रेष्ठ अधिकांश समय सम्पर्क कार्यालयमा बस्दै आएका छन्। प्रतिष्ठान विषम परिस्थितिमा पुग्दा पनि सरकारले पदाधिकारी नियुक्तिमा ध्यान दिएको छैन। यो प्रतिष्ठानलाई अपहेलना गरिएको छ। यदि यही अवस्थालाई कायम राखिए अस्पतालका सबै सेवा पूर्ण रुपले बन्द गर्छौं,' उनले भने।
पदाधिकारीविहीन हुँदा प्रतिष्ठानको तीन सय श्ययाको निर्माणाधीन भवनको कामको भुक्तानी दिन नसकिएको प्रतिष्ठानले जनाएको छ। मुलुकका अन्य प्रतिष्ठानमा पदाधिकारीविहीन हुने बित्तिकै तुरुन्तै सरकारी चासो हुने तर यहाँको प्रतिष्ठानमा नौ महिना पदाधिकारीविहीन हुँदा पनि सरकार उदासीन देखिएकामा कर्णालीवासीले आक्रोश पोख्दै आएका छन्।रासस