
काठमाडौं: नेपाल चलचित्र संघको अध्यक्ष पदमा निर्वाचित प्रदिप कुमार उदयले आफ्नो कार्यकालमा चलचित्र क्षेत्रलाई पारदर्शी, व्यवस्थित, सम्मानित र प्रतिष्ठित बनाउन लागि पर्ने बताएका छन्।
पहिलोपस्टसँग कुरा गर्दै उनले भने,'फिल्मको व्यवसायिक पाटो सबल नभए यो क्षेत्र व्यवस्थित हुन गाह्रो छ। जसका लागि पारदर्शिता आवश्यक छ। म आफ्नो नेतृत्वमा यिनै कुरालाई जोड दिन्छु।'
उदय संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्। मंगलबार हेटौंडामा सम्पन्न चलचित्र संघको ४२ औं साधारण सभाबाट उनी हल व्यवसायीहरुको नेतृत्वका लागि चुनिए पनि उनको कार्यकाल आउँदो वैशाखबाट मात्र सुरु हुन्छ।
हाल संघका लागि व्यवसायी नकिम उद्दिन अध्यक्ष रहेका छन्। उनले फिल्म र फिल्म व्यवसायसँग जोडिएका अन्य संघ संस्थासँगको सहकार्यमा काम गर्ने र सोही अनुरुप नीति निर्माण गर्ने जानकारी दिए।
'सेयर बाँडफाँडलाई पारदर्शी बनाउनु महत्वको विषय रहेको बताउने उदयले चलचित्रसंघले तत्काल बक्सअफिस निर्माणमा भने जोड नदिने सुनाए।
'बक्सअफिस भनेकै कलेक्शनको डाटा हो। गलत व्याख्या भइरहेको अवस्थामा संघले र बुझेकाहरुले यसलाई महत्वको विषय मानेकै छैनन्।'
'निर्माता, डिस्ट्रिब्युटर र प्रदर्शक बिचको समझदारी बिकासमा जोड दिनु आजको आवश्यकता हो। अब नेपाल चलचित्र संघ आवश्यक समझदारीको वातावरण बनाउन लाग्छ', उनले भने।
हल संचालकहरुको संघको नयाँ कार्य समितीमा अशोक शर्मा, बीरेन्द्र नारायण श्रेष्ठ, मधुसुधन प्रधान, नरेन्द्र महर्जन, गोपाल कायस्थ, अर्जुन श्रेष्ठ, मदनमान बज्राचार्य, विक्रम पराजुली, कपिल द्धा, राजिककुमार शाह, निराज पोखरेल, नारायणप्रसाद आचार्य,ओम जैसी निर्वाचित भएका छन्।