सिन्धुली : अरुणठाकुर गाविस–२ स्थित मानवा थापा टोलमा ट्याक्टरले थिच्दा आज बिहान १० वर्षीया बालिका विनिता तामाङको घटनास्थलमा नै मृत्यु भएको छ।
अरुणठाकुरको भित्री कच्ची बाटामा गुडिरहेको स १ त ५५२२ नं को ट्याक्टरले विद्यालय जाँदै गरेकी सोही ठाउँकी तामाङलाई थिचेको थियो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुभाषचन्द्र बोहोराका अनुसार उनी घरबाट स्कुल पढ्न गइरहेका अवस्थामा ट्याक्टरको अगाडिको दाहिने चक्काले थिचेको हो।
प्रहरी चौकी दुधौली सिन्धुलीले घटनास्थलमा शव जाँच मुचुल्का गरी शव परीक्षणका लागि कटारी अस्पताल उदयपुरमा पठाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। दुर्घटनापछि ट्याक्टर चालक फरार रहेकाले खोजी कार्य जारी छ। ट्याक्टर भने प्रहरी चौकी दुधौलीको नियन्त्रणमा छ।
यसैबीच सिन्धुली, कमलामाई नगरपालिका–६ सिन्धुली हस्पिटल रोडमा सिन्धुलीका सहायक प्रजिअ सवार बोलेरोलाई बसले ठक्कर दिएको छ।
सहायक प्रजिअ सवार बा १ झ ७८२६ नं को बोलेरो गाडीलाई विपरीत दिशाबाट आएको ना ४ ख ९३३ नं को बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ठक्करबाट मानवीय क्षति नभए पनि बोलेरो गाडीमा क्षति पुगेको प्रहरीको भनाइ छ। प्रहरीले बस चालक सिन्धुली कमलामाई नगरपालिका–१० भिमानका ५३ वर्षीय अर्जुन बराललाई नियन्त्रणमा लिएको छ।रासस