PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

'रईस' पहिलो दिन २० करोडको व्यवसाय, समिक्षात्मक रुपमा कमजोर



पहिलोपोस्ट

'रईस' पहिलो दिन २० करोडको व्यवसाय, समिक्षात्मक रुपमा कमजोर

फ्यान फलोइङको क्रेजका कारण किङ खान कहलिएका बलिउड अभिनेता शाहरुख खानको फिल्महरुले केहि समय यता बक्स अफिसमा राम्रो प्रस्तुती दिन सकेको छैन। दुई फिल्म 'फ्यान' र 'दिलवाले'ले बक्स अफिस साथै समिक्षात्मक रुपमा नकारात्मक टिप्पणी पाएपछि उनको दमदार कमब्याकको अपेक्षा धेरैले गरे।

बहुप्रतिक्षित भनिएको फिल्म 'रईस' बुधबार सार्वजनिक भयो। शाहरुख अभिनित सो फिल्म प्रदर्शनको लागि विकेन्ड कुरिएन। फिल्मले व्यवसाय कस्तो गर्ला? यो त हप्ताभरको ग्रशकलेक्शनले बताउँला तर प्रतिक्रियात्मक रुपमा भने फिल्म तारिफ बटुल्न चुक्यो।
गुजरातको एउटा रक्सी माफियाको कथा हो फिल्म रईस। जसले "ड्राई स्टेट" गुजरातमा आफ्नो साम्राज्य बनाएको हुन्छ। र रक्सी माफियाको यो खेलमा उ ठुलो व्यापारी बन्छ।

तर आफ्नै गल्तीका कारण उ मृत्युको मुखमा पुग्छ। फिल्मको कथा यती मात्र हो। यही कथा तन्काइएको प्रस्तुती हो फिल्म, जहाँ एक पात्रको वरिपरी पटकथालाई घुमाइएको छ।

रक्सी माफिया अब्दुल लतीफको जीवनमा आधारित भनेर प्रचार गरिएको फिल्ममा अभिनयको पाटोलाई बलियो मान्न सकिन्छ।

शाहरुख खानले मूख्य पात्र हुनुको मिहिनेत प्रस्तुतीमा देखिन्छ। एन्टी हिरोको रुपमा शाहरुखले रईसमा मात्र होइन डन, डर, बाजीगर लगायत फिल्ममा पनि उत्कृष्ट प्रस्तुती दिइसकेका छन्। उनी यस फिल्मका निर्माता पनि हुन्।

शाहरुखको अपोजिटमा शाहरुखको अपोजिटमा देखिएकी पाकिस्तानी अभिनेत्री माहिरा खान राम्री देखिन्छिन् तर अभिनयमा भने उनको चित्त बुझ्दो प्रस्तुती छैन। थोरै समय स्क्रिनमा देखिने माहिरालाई फिल्म प्रचारबाट टाढा राखिएको थियो।

फिल्ममा सानो भूमिका तर दमदार प्रस्तुती दिएका छन् नवाजुद्दीन सिद्दिकीले। फिल्मको कथामा गती दिन उनको भूमिका महत्वपुर्ण छ। यदी प्रस्तुती कमजोर भएको भए उनको महत्व फिल्ममा झल्कदैनथ्यो।

फिल्ममा रईसको साथीको रुपमा देखिन्छन् अभिनेता जीशान अयूब उनले शाहरुखसँगको केमेस्ट्रीलाई सरल तर गज्जब ढङ्गले मिलाएका छन्।
प्रविधिक पक्षमा भने फिल्म चुकेको छ। शाहरुखको सिन बाहेक अन्य दृश्य हतारमा खिचेको भान हुन्छ। एक्शन दृश्यमा कोरियोग्राफर राहुल ढोलकियाले राम्रो काम गरेका छन्। त्यसैले पनि हुन सक्छ फिल्मका द्वन्द्धरु लामा लाग्छन्।

एक वर्ष पहिलेनै तयार भएको रईस प्रदर्शन निकै कुरेर गरियो। सुल्तानसँग जुध्ने भनिएको फिल्म काबिलसँग जुध्यो तर पनि शाहरुख फ्यानको अपेक्षा मीट गर्न सकेन। फिल्मलाई बिबिसी हिन्दीले पाँचमा दुई र आधा तारा दिएको छ।

प्रदर्शन भएको पहिलो दिन बुधबारनै बिस करोड चालिस लाखको व्यापार गरेको फिल्मलाई टाइम्स अफ इन्डियाले भने पाँचमा तीन र आधा तारा दिएको छ। सांगीतिक पक्षमा पनि शाहरुख अभिनित अन्य फिल्मको तुलनामा कमजोरा मानिएको रईसलाई इन्डियन एक्सप्रेसले पनि दुई र आधा तारा मात्र दिएको छ।

नायिकालाई फिल्ममा आकर्षित पक्षको रुपमा व्याख्या गर्न मात्र अभिनय गराएको बताउँदै फस्टपोस्टले पनि पाँचमा दुई र आधा तारा रईसलाई दिएको छ।   

बुधबारनै प्रदर्शनमा आएको फिल्म काबिलले भने समिक्षात्मक रुपमा राम्रो प्रतिक्रिया पाएपनि व्यवसायमा रईसभन्दा पछि पर्‍यो। फिल्मले पहिलो दिन दश करोड चालिस लाखको मात्र ग्रश कलेक्शन गरेको फिल्म विज्ञ तरण आदर्शले ट्विटमा जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell