PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

ब्याजमा बै‌ंकको कार्टेलिङ् : वचतकर्तालाई १२ प्रतिशतभन्दा बढी ब्याज नदिने



सुदर्शन सापकोटा

ब्याजमा बै‌ंकको कार्टेलिङ् : वचतकर्तालाई १२ प्रतिशतभन्दा बढी ब्याज नदिने

काठमाडौं : वाणिज्य बैंकहरुले १२ प्रतिशतभन्दा माथि ब्याज नदिन सहमति गरेका छन्। छाता संगठन बैंकर्स एसोसिएसनको बिहीबार दिउँसो बसेको वैठकमा ब्याज दर १२ प्रतिशतभन्दा माथि नजान सहमति बनेको हो।

बैठकमा २७ वटा वाणिज्य बैकका प्रमुख कार्यकारी अधिकृतहरु उपस्थित थिए। सुरुमै संघका अध्यक्ष अनिल शाहले ब्याज दर निक्कै बढेको भन्दै यसलाई व्यवस्थापन गर्न केही कदम चाल्न आवश्यक भएको बताएका थिए।

नेपाल राष्ट्र बैंकले सहयोग नगरेको निस्कर्ष निकाल्दै बैंकहरुले अब उपरान्त कुनै पनि निक्षेपमा १२ प्रतिशतभन्दा बढी ब्याज नदिने प्रतिवद्धता गरेका हुन्। सरकारले पनि विकास खर्च गर्न थाल्ने भएकाले तरलताको समस्या घट्दै जाने बैंकरको निस्कर्ष छ। अहिले धेरै 'प्यानिक' हुन नहुने भन्दै उनीहरुबीच आफ्नै तवरले ब्याजमा नियन्त्रण गर्न सहमति बनेको हो।

बैंकहरुले संस्थागत निक्षेपकर्तालाई साढे १३ प्रतिशतसम्म ब्याज दिन सुरु गरिसकेका छन्। सर्वसाधारणका लागि पनि बैकहरुले ब्याज बढाएर १२ प्रतिशत पुर्‍याइसकेका छन्।

'साढे १३ प्रतिशतमा निक्षेप लिएर कतिमा ऋण दिने' एक बैंकरले भने, 'अर्थतन्त्रका लागि पनि महँगो ब्याज राम्रो होइन। राष्ट्र बैंक र सरकारले सहयोग नगरेपछि आफ्नै हिसाबले ब्याज नियन्त्रण गर्ने प्रयास गरिएको हो।'

बैंकहरुले अब नेपाल लाइफको एफपिओमा गएको ५२ अर्ब पनि फिर्ता आउने बेला भएकाले ब्याज दर एउटा लेभलभन्दा माथि लैजान नहुने तर्क गरेका थिए।

केही महिनाअघि पनि बैकहरुले ८ प्रतिशतभन्दा वढि ब्याज नदिने सहमति गरेका थिए। त्यो सहमति दुई दिन मात्र पालना भएको थियो।

बैंकहरुले तत्कालको समस्या समाधान गर्न राष्ट्र बैकसँग पुनर्कर्जा माग गरिए पनि त्यो प्राप्त नभएकाले आफ्नै हिसावले ब्याज तल झार्न पहल गर्नु परेको एक बैंकरले बताए।

'आजको मितिमा १२ प्रतिशत ब्याज ठिक हो' संघका अध्यक्ष शाहले भने, 'अर्को साताबाट ब्याज दर ११, १० हुँदै झर्नु पर्छ।' उनले ब्याज दर निक्कै माथि पुगेको भन्दै यसमा गम्भिर हुन आवश्यक रहेको बताए।

बैंकहरुले राष्ट्र बैकको अहिलेको व्यवस्थापनबाट कुनै पनि सहयोग प्राप्त नभएको बताएका छन्। अघिल्लो पटक समस्या आउँदा तत्कालीन गभर्नर डा. युवराज खतिवडाले संस्थागत निक्षेपकर्तालाई फोन गरेरै १२ प्रतिशतभन्दा माथि नमाग्न आग्रह गरिदिएका थिए। उनकै पहलमा बैंकहरुबीच १२ प्रतिशतभन्दा माथि नजाने सहमति पनि बनेको थियो।

यसपाली भने राष्ट्र बैकबाट कुनै पनि सहयोग प्राप्त नभएको बैंकरको गुनासो छ। गभर्नर डा. चिरञ्जिबी नेपालले सार्वजनिक कार्यक्रममै १० प्रतिशतमा पैसा नआए १२ प्रतिशत दिन सुझाव दिएका थिए।

'गभर्नरबाटै १२ नभए १४ प्रतिशत ब्याज दिनुस् भन्ने वक्तव्य आएपछि हामीले कोबाट आश राख्ने' एक बैंकरले भने, 'राष्ट्र बैंकबाट नहुने भएपछि आफ्नै हिसावले पहल गरेका हौं।' उनले गभर्नरले ब्याज वढाउन सुझाउँदा निक्षेपको बजार बिग्रिएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell