PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

पक्राउ पर्ने डरले प्राधिकरणका कर्मचारी भागमभाग



सविन ढकाल

काठमाडौं : व्यवसायीसँगको मिलेमतोमा उल्टो मिटर घुमाएर ठगी गरेको आरोपमा प्रहरीले १५ जना कर्मचारी पक्राउ गरेपछि विद्युत प्राधिकरणले मिटर रिडरनै पाउन छाड्यो।

प्रहरीले प्राधिकरणका मिटर रिडर केन्द्रित भएर अनुसन्धान अगाडि बढाएपछि कर्मचारीहरु कार्यालयको सम्पर्कमै छैनन्। मिटर रिडर कार्यालय नआएपछि प्राधिकरणले सुचनानै जारी गरेर मिटर रिडर नआए आफैं अङ्क टिपेर महसुल भुक्तानी गर्न ग्राहकलाई आग्रह गरेको छ।

'तोकिएको मितिमा रिडिङ नसकेमा सम्बन्धित ग्राहकहरुले आफ्नो मिटरमा उठेको अंक टिपी सम्बन्धित विद्युत महसुल बुझाउने आय काउन्टरमा गई विद्युत महसुल भुक्तानी गरी रिबेट समेत लिनका लागि' आग्रह गर्दै प्राधिकरणले बिहीबार सार्वजनिक सूचना निकालेको हो।
यस्तो सूचना किन जारी गरेको हो?

प्राधिकरण प्रमुख कुलमान घिसिङ मिटर रिडरहरुको सरुवा भएकाले कर्मचारीको अभाव हुनसक्ने दावी गरे।

तर ठगीमा कर्मचारीको संलग्नताबारे अनुसन्धान गरिरहेको प्रहरीको निष्कर्ष भने उनको भन्दा भिन्न छ।
 
अनुसन्धानमा संलग्न महानगरीय प्रहरी अपराध महाशाखाका एक प्रहरी अधिकृतले सोधपुछका लागि मिटर रिडर खोज्दा फेला पार्नै गार्हो भएको बताए। उनीहरु पक्राउ परिएला भन्ने भयले सम्पर्कविहिन भएर बसेको ती अधिकृतको ठहर छ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनालले ठगीमा संलग्न देखिएका भागेर जहाँ गए पनि निन्त्रणमा लिई कारबाहीको दायरामा ल्याउने बताए।

'भागेर जहाँ गए पनि प्रहरीले छोड्दैन,' उनले भने।

कति छन् मिटर रिडर

केन्द्रीय प्राधिकरणमा अहिले करिब ५ सय मिटर रिडरहरु छन्। १२ वर्षदेखि एकै स्थानमा खटाउँदा ग्राहकसँग मिलेर सहजै ठगी धन्दा चलाएको प्रहरीको अनुसन्धानमा खुलेको थियो।

प्रहरीले प्राधिकरणकै कर्मचारी ठगीमा संलग्न रहेको भन्दै पक्राउ गरेपछि प्राधिकरणले बुधबार २५ सय कर्मचारीको सरुवा गरेको थियो। सरुवा हुनेमा अधिकांश मिटर रिडर छन्।

प्रहरी हिरासतमा रहेका कर्मचारीले आफु मात्रै नभई अन्य कर्मचारीले समेत यस्तै काम गर्ने बयान दिएपछि प्रहरीले पोलिएका अन्य कर्मचारीको समेत खोजी गरिरहेको छ।

प्रारम्भमा १२ जना कर्मचारी पक्राउ गरेको प्रहरीले बुधबार थप तीन जना कर्मचारी पक्राउ गरिसकेको छ। पक्राउ गर्नुपर्ने सूचीमा अन्य कर्मचारीको समेत नाम भएके अनुसन्धानमा संलग्न स्रोतले बतायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell