राजविराज : सप्तरीका छुट्टाछुट्टै घटनामा परी बिहीबार एक जनाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन्।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको मधुपट्टीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहा जिल्लाको गोविन्दपुर–२ बस्ने अन्दाजी ४० वर्षीय घुरन यादव रहेको इलाका प्रहरी कार्यालय, कडोरबनाले जनाएको छ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स १ प २१९७ नंको मोटरसाइकल विपरित दिशाबाट आउँदै गरेको ना ५ त ८४३० नंको ट्याक्टरमा ठोकिएको थियो।
यस्तै, फत्तेपुर–कञ्चनपुर सडकखण्डअन्तर्गत सप्तरीको सप्तकोसी नगरपालिका–४ मा बिजुलीको पोलमा बिहीबार ट्रक ठोकिँदा एकै परिवारका तीनसहित चारजना घाइते भएका छन् । फत्तेपुरबाट सिमेन्ट मिक्सर मेसिन बोकेर कञ्चनपुरतर्फ आउँदै गरेको ना १ क ४४५२ नंको ट्रक बिजुलीको पोलमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
सो दुर्घटनामा परी चालक उदयपुर तपेश्वरी–९ बस्ने गणेश चौधरी, उनकी पत्नी ललिता चौधरी र १० वर्षीय छोरा प्रभात चौधरी तथा सहचालक मनकुमार मगर घाइते हुनुभएको छ । घाइतेको स्थानीय क्लिनिकमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। रासस