
श्रीनगर (भारत) ः भारत प्रशासित काश्मिरमा अवस्थित एक सैनिक शिविर र सीमा क्षेत्रमा गस्तीमा रहेका सैनिकलाई हिमपहिरोले पुर्दा कम्तिमा १० जना भारतीय सेनाको मृत्यु भएको छ।
भारतीय सेनाले दिएको जानकारी अनुसार गुरेज क्षेत्रस्थित शिविरमा रहँदै आएको १० जनामध्ये तीन जनाको हिमपहिरोमा परी मृत्यु भएको छ भने सात जनालाई सकुशल उद्धार गरिएको छ ।
त्यसैगरी गस्तीमा रहेका अन्य सात सैनिकको पनि सोही हिमपहिरोमा परी मृत्यु भएको भारतीय सेनाका कर्नेल राजेश कालियाले बताए।
उनका अनुसार तीन सैनिक अधिकारीको शव बुधबार हिउँबाट निकालिएको थियो भने थप चार जनाको शव बिहीबार निकालिएको छ।
उक्त क्षेत्रमा हरेक वर्ष चिसो याममा पर्ने हिउँ र हिमपहिरोका कारण हरेक वर्ष दर्जनौँ भारतीय तथा पाकिस्तानी सेनाको मृत्यु हुनेगर्छ।
सोही क्षेत्रमा बुधबार एकै परिवारका तीन जना भारतीय नागरिकको मृत्यु भएको थियो भने अर्को एक घटनामा एक सैनिक जवानको समेत मृत्यु भएको थियो।
भारतीय मौसमविद्ले उक्त क्षेत्रमा आगामी दुई दिनसम्म भारी हिमपात हुने जनाएपछि भारतीय अधिकारीले हिमपहिरोको जोखिम भएका क्षेत्रबाट सुरक्षित स्थलमा जान सर्वसाधारणलाई आग्रह गरेका छन्। रासस/एएफपी