PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

​स्वास्थ्य चौकीमा खोप क्लिनिक सञ्चालनका लागि जग्गा दान



पहिलोपोस्ट

पाल्पा : पाल्पा जिल्लाको भुवनपोखरी गाविस–२ निवासी जगबहादुर दर्लामीले भुवनपोखरी स्वास्थ्य चौकी खोप क्लिनिकलाई जग्गा दान गरेका छन्। 

भुवनपोखरी गाविस–२ मा रहेको १५२० कित्ता नम्बरको एक रोपनी जग्गा स्वास्थ्य चौकीको नाममा विहिबार नामसारी गर्नुभएको मालपोत कार्यालयका प्रमुख नवराज बरालले जानकारी दिए। 

स्वास्थ्य चौकी राख्नका लागि उपयुक्त जग्गा किन्न पनि नपाएपछि आफूले दिएको दर्लामीले बताए। ‘मानव जीवनको सबैभन्दा संवेदनशील अवस्था स्वास्थ्य भएको र समयमै उपचार गर्न नपाए ज्यान पनि जान सक्छ, त्यसैले पनि राज्यले दिन खोजेको सुविधाबाट यहाँका नागरिक वञ्चित नहून् भन्ने उद्देश्यले आफूले जग्गा उपलब्ध गराएको हो’, उनले भने। 

स्वास्थ्य चौकी इन्चार्ज निरमा यादवले स्वाथ्यचौकीका लागि उपयुक्त जग्गा उपलब्ध गराएकोमा धन्यवाद दिए। भुवनपोखरी गाविसका स्थानीय बासिन्दा तथा राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामीले मानव जीवनको ख्याल गरेर लाखौँ पर्ने जग्गा स्वास्थ्य चौकी निर्माणका लागि निःशुल्क उपलब्ध गराएर महान् काम गरेकाले सो कामको प्रशंसा गरे। 

मालपोत कार्यालयका प्रमुख नवराज बरालले सरकारी कार्यालयका लागि व्यक्तिले निःशुल्क जग्गा उपलब्ध गराएमा मालपोतबाट पनि निःशुल्क पास गरिदिने व्यवस्था रहेको बताए। राज्यले मात्रै केही गर्न नसक्ने भन्दै प्रमुख बरालले व्यक्तिको सहयोग आवश्यक पर्ने र यस्ता मन भएका दाताहरुलाई समाजले र राज्यले सम्मान गर्नुपर्ने उनले बताए। दर्लामीले स्वास्थ्य चौकीको नाममा करिब रु पाँच लाख बरावरको जग्गा नामसारीपछि भवन बन्ने भएको हो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell