रत्ननगर : चितवनको सिमसार क्षेत्रमा एउटा नयाँ चरा फेला परेको छ । सिमसारमा बस्ने रोड्डी टर्नस्टोन नामको चरा फेला परेको बर्ड एजुकेसन सोसाइटी चितवनका निवर्तमान अध्यक्ष वासु विंडारीले जानकारी दिए।
नेपालका लागि यो चरा फेला परेको तेस्रो घटना भएपनि चितवनमा भने पहिलोपटक फेला परेको विंडारीको भनाइ छ। चराको अवस्था र बासस्थानको अवस्था पत्ता लगाउन चितवनमा पुसको अन्तिम सातादेखि दुई हप्तासम्म विभिन्न क्षेत्रमा भएको जलपक्षीको गणनाका क्रममा नयाँ चरा रेकर्ड भएको हो । यो सँगै जिल्लामा चराको सङ्ख्या ६ सय ३४ पुगेको छ।
नेपालमा आठसय ८७ प्रजातिका चरा छन्। नेपालमा पाइने चरामध्ये अधिकांश चरा चितवनमा देखिएकाले यहाँ चरा पर्यटनको राम्रो सम्भावना छ। चितवन निकुञ्ज आसपास क्षेत्रमा पानीमा पाइने चराको राम्रो बासस्थान छ। चितवनमा पाइने चरामध्ये करिब ६० प्रतिशत जल क्षेत्र र निकुञ्ज आसपासमा भेटिन्छन्। अहिलेको गणनामा चराको संख्यासमेत बढेको पाइएको चरा विज्ञहरुले जानकारी दिएका छन्।
यसपालिको गणनामा पूर्वी चितवनको भण्डारास्थित मत्स्य विकास केन्द्रको परिसरमा समेत चराको अनुगमन भएको बर्ड एजुकेसन सोसाइटीले जनाएको छ। सोसाइटीको अगुवाइ र चितवन राष्ट्रिय निकुञ्जको सहयोगमा गणना थालिएको हो।
गणनाका लागि ५० जना गाइड परिचालन भएका थिए। यहाँको ढुङ्ग्रेखोला, बूढी राप्ती, कसरा, राप्ती नदी, लामिताल, राप्ती घाट, तमोर ताल र विस हजारीतालमा चरा गणना भएको थियो। रासस