
काठमाडौं: युवावस्थामा घट्ने विभिन्न घटनालाई पर्दामा उतार्दै सायद, होस्टल, होस्टल रिटर्न्स जस्ता हिट फिल्म दिएको दुर्गिस फिल्मले २०७३ मा मात्र तीन फिल्म प्रस्तुत गर्ने लक्ष्य लिएको थियो। गत वैशाखमा कार्यक्रम आयोजना गरी दुर्गिस फिल्मस ब्यानारले सायद २, लाउरे र लभ नम्बरको घोषणा पनि गर्यो।
तर फिल्म निर्माण प्रक्रिया र प्रदर्शन मितिको चर्चा भने हिट फिल्म सायदको सिक्वेल 'सायद दुईको मात्र छ। युनिटले यही वर्षको चैत ४ गते फिल्म रिलिज गर्ने बताएको थियो।
तोकिएको मितिमा एसएलसी परिक्षा पर्ने भएकाले यो वर्ष 'सायद दुई' प्रदर्शन नहुने भयो। एसएलसी परिक्षापछिको समय लक्षित गरी पुन: २०७४को जेठ १२ मा प्रदर्शन तय गरिएको थियो तर अब भने फिल्म असार ३० गते मात्र सार्वजनिक हुने भएको छ।
'सायद २'लाई पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन्। न्यौपानेले सहायक निर्देशकका रुपमा ‘डेन्जरस इस्क, राज ३, हेट स्टोरी २ र ३, म्याक्सिमम’ जस्ता सफल बलिउड चलचित्रमा काम गरी सकेका छन्।
सुनिल रावलको निर्माण रहेको ‘सायद–२’को मार्चमा जापान प्रिमियर हुँदैछ। फिल्ममा सुशील श्रेष्ठ, अमृत ढुंगाना, स्यारोन श्रेष्ठ, कुशल पाण्डे, निशा कार्की, बुद्धीलाल मगर, सुनिल रावल, किरण शर्मा र कामना प्रंसाईंको मुख्य भूमिका रहेको छ।