बुटवल : रुपन्देहीको तिनाउ नदीमा ढुङ्गा गिट्टी उत्खननका लागि पूर्णतयाः निषेधित क्षेत्रबाट अवैध रुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन भइरहेको छ।
सो क्षेत्रमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीको लापर्बाहीका कारण अवैध रुपमा नदीमा उत्खनन गरिराखेको अवस्थामा बा १ च ६४६९ नं. को स्काभेटर केही महिनाअघि स्थानीय विकास अधिकारी, युवराज सुवेदी आफै पुगेर नियन्त्रणमा लिई प्रहरीलाई बुझाउनुपरेको थियो।
स्थानीय विकास अधिकारी आफै निषेधित क्षेत्रमा पुगेर अवैध उत्खनन कार्यको ‘अपरेशन’ गरी कारबाही थाल्दा पनि नदीमा दोहन कार्य अझै रोकिएको छैन। त्यस क्षेत्रमा स्काभेटर प्रयोग गरी जथाभावी उत्खनन गर्ने र टिपरमार्फत् ढुङ्गा गिट्टी नजिकैको क्रसर उद्योगमा स्टक राखी बेच्ने गरेको स्थानीयवासीले जनाएका छन्।
तिनाउ खोलामा जथाभावी उत्खनन गर्दा वातावरणीय समस्या बढेपछि केही वर्षदेखि उत्खनन ठप्प छ। स्थानीय अनुगमन समितिले अन्य समयमा पुलको ५०० मिटर दायाँ र बायाँ उत्खनन गर्न नपाइने गरी पूर्णतयाः निषेध गरेको छ। तर अमुवाको पुल नजिकै ६० मिटरभित्र दिनदहाडै अवैध उत्खनन हुँदा नजिकै रहेको सशस्त्र प्रहरी र जनपद प्रहरी रमिते बनेर बसिरहेका छन्।
अमुवा पुल नजिकै बसेको सशस्त्र प्रहरीको सुरक्षा बसेका सशस्त्र प्रहरी निरीक्षक युवराज दाहालले नदीजन्य पदार्थ चोरी निकासीमा नियन्त्रणको प्रयास भइरहेको बताए। राष्ट्रिय गौरवका आयोजनालाई आवश्यक पर्ने ढुङ्गा, गिट्टी, बालुवा र माटो निकासीका लागि जिविसबाट अनुमति पाएका कम्पनीबाहेक अन्यले निकाल्न नपाएको दाबी उनले गरे।
स्थानीय विकास अधिकारी युवराज सुवेदीले आफूहरुले पटक पटक निकासीका नाकाहरुमा अनुगमन गर्दा त्यस किसिमका चोरी निकासी गर्ने काममा संलग्नलाई नियन्त्रणमा लिएर कारबाही गर्ने गरेको बताए। उनले पछिल्लो पटक राष्ट्रिय गौरवका आयोजनालाई आवश्यक पर्ने स्रोत उत्खननका लागि तीन वटा निर्माण कम्पनीले अनुमति पाएको र तिनको समेत कडा निगरानी भइरहेको बताए।
पछिल्लो पटक रुपन्देहीका मुख्य तीन वटा तिनाउ, दानव र रोहिणी नदीबाट नदीजन्य स्रोत निकासीका लागि ठेक्का भएको र १९ वटा नाका खोल्ने तयारी भइरहेको जानकारीसमेत दिए।रासस