काठमाडौँ : २९ वर्षीय नेपाली अल्ट्रा धाविका मीरा राईले नेशनल जियोग्राफिकले हरेक वर्ष प्रदान गर्दै आएको 'एड्भान्चर अफ दी इअर २०१७' को अवार्ड जितेकी छिन्।
अनलाइन भोटिङसमेतका आधारमा अन्य ९ प्रतिस्पर्धीलाई पछि पार्दै मीराले 'साहसी वर्ष व्यक्ति २०१७' को अवार्ड हात पारेकी हुन्।
१२ वर्षको उमेरमै विद्यालय जान छाडेकी मीरा १४ वर्षकी हुँदा तत्कालीन नेकपा माओवादीको आन्दोलनमा लागिन्। पैसा कमाउन र आफ्नो जीवनको नयाँ मार्ग खोज्नका लागि उनी माओवादी विद्रोहमा सामेल भइन् तर त्यहाँ उनी अयोग्य घोषित भइन् र दुई वर्षपछि नै घर फर्किइन्।
माओवादीमा अभ्यास गर्दा उनले दौड र कराँतेमा आफूलाई पोख्त बनाइसकेकी थिइन्। महिलाहरुको लागि नेपालमा व्यवसायिक रुपमा कुनै खेल प्रतियोगिताहरु नहुनेहुँदा उनी आफ्नो प्रतिभालाई कहाँ प्रस्तुत गर्ने भन्ने कुरामा चिन्तितसमेत बनेकी थिइन्।
तर दुई वर्षअघि उनले आफ्नो क्षमता देखाउने ठूलो अवसर पाइन्। त्यसपछि अगाडि बढेकी मीराले पछाडि फर्केर हेर्नु परेन। उनले आफूलाई नेपालमा मात्र नभई विश्वमा चिनाउन सफल भएकी छिन्।
दुई वर्षअघि काठमाडौँमा दौडिरहेकी मीरालाई दुई पुरुष ट्रेल रनरले देखे र काठमाडौं वेष्ट भ्याली रिम ५० किलोमिटरमा दौडिन बोलाए। यो उनले भाग लिएको पहिलो ट्रेन रन थियो।
३१ माइलको उक्त दुरी दौडनको लागि न त मीरासँग ट्रेनिङ थियो न दौडका लागि चाहिने 'स्पेसल गियर' नै। उक्त प्रतिस्पर्धामा भाग लिने मीरा एकमात्र महिला खेलाडीसमेत थिइन्। तर दर्शकलाई चकित पार्दै मीराले सबै प्रतिष्पर्धीलाई पछि पारिन्, उनले पुरुष खेलाडीलाई समेत जितिन्।
त्यसपछि मीरालाई अन्तर्राष्ट्रिय ट्रेल रनिङ कम्पिटिसनमा सहभागी गराउन सहयोग गर्नेहरु बढे।
मीराले सन् २०१५ मा फ्रान्समा भएको मोन्ट ब्लान्क अल्ट्रा म्याराधनको उपाधि जितेकी थिइन् भने हङकङमा सम्पन्न स्काई रनिङ एसियन च्याम्पियनसिपमा समेत उपाधि जितेकी थिइन्।
साथै उनले सन् २०१४ मा इटली र नर्वेमा भएको अल्ट्रा म्याराथनको उपाधिसमेत हात पारेकी थिइन्। 'अयोग्य'देखि विश्व च्याम्पियनसम्म मीराको यात्रा..,