
काठमाडौं : बिमस्टेकको सचिवस्तरीय बैठक माघ २३ देखि २५ गतेसम्म काठमाडौंमा हुने भएको छ। मन्त्रिपरिद्को आजको बैठकले यो निर्णय गरेको हो।
बैठकले गरिबी निवारण कोषको उपाध्यक्ष छनोट समितिमा पूर्वरेक्टर महेन्द्र सिंहलाई विज्ञका रुपमा नियुक्त गरेको छ। स्वास्थ्य क्षेत्रको बेथिति अन्त्यका लागि पटकपटक अनसन बस्दै आएका प्राडा गोविन्द केसीसँगको सम्झौताको कार्यान्वयनका लागि तीन सदस्यीय समिति पनि बनाइएको छ। समितिमा विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की, पूर्व रजिष्टार श्रीकृष्ण गिरी र शिक्षा मन्त्रालायका सहसचिव छन्।
आजको बैठकले मुस्ताङको लोमान्थाङ आसपासको क्षेत्रमा नापी गर्न बाँकी रहेको जमिनलाई छिटै नापी गर्ने, नवलपरासीको बेलाहानी लगायतका क्षेत्रका बसोबासीहरुको जग्गा दर्ता गर्ने प्रयोजनका निम्ति एक समिति गठन गर्ने निर्णय गरेको छ। बैठकले नेपाल सरकारका शाखा अधिकृतहरुको प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा शैलेन्द्र गिरीलाई नियुक्त गरेको छ। यस्तै प्रकाश माथेमालाई नेपाल सरकारको सचिव पदमा पदोन्नति गरेको छ।
एनआइडिसी डेभलपमेन्ट बैंकलाई राष्ट्रिय वाणिज्य बैंकमा गाभ्ने पनि निर्णय भएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए।
राष्ट्रिय पुनर्संरचा आयोगले बुझाएको प्रतिवेदनमा प्रधानमन्त्रीले एक चरण छलफल गरी अगाडि बढाउने कुरा भएको मन्त्री कार्कीले पत्रकारहरुलाई जानकारी दिए। 'नुवाकोट लगातका जिल्लामा पुनर्संरचनाबारे विवाद नै छ। प्रधानमन्त्रीले परिमार्जनका लागि शीर्ष नेताहरुसँग छलफल गर्ने तयारी गर्नुभएको छ,' उनले भने।