काठमाडौं : यातायात व्यवस्था विभागलार्इ एक वर्षअघि नै सफ्टवेयर बनाउने कम्पनी योमरीले 'सिस्टम अपग्रेड' गर्न सुझाव दिएको थियो।
सात वर्षअघि त्यो पनि एउटा अञ्चलका लागि तयार पारेको सफ्टवेयर तत्काल अपग्रेड गर्न दिएको सुझाब विभागले अटेर गर्यो। एक वर्षअघिको सुझाव नमान्दा देशभरिको 'सर्भर डाउन' भयो।
सर्भर डाउन भएपछि एक साताका लागि लाइसेन्सको सबै काम ठप्प भएको छ। जनतासँग प्रत्यक्ष जोडिएको विषयमा विभागले गरेको लापरवाहीले लाइसेन्सको सबै काम ठप्प भएको छ।
वाग्मती यातायात कार्यलयका लागि तयार पारिएको सफ्टवेयर १४ वटा यातायात कार्यलयमा चलाएपछि सर्भरमा समस्या आउन सुरु भएको योमरीका अरुण हमालले बताए।
'हामीले एक वर्ष अघिदेखि नै सफ्टवेयर अपग्रेड गर्न आग्रह गरेको थियौं,' हमाल भन्छन्, 'विभागले देशैभरि स्मार्टकार्ड लाईसेन्स दिने भन्दै यो सफ्टवेयर अपग्रेड नगर्दा समस्या भयो।'
स्मार्टकार्डको सफ्टवेयर भने भारतीय कम्पनीले बेचेको हो। अहिले वाग्मती यातायात कार्यालयमा भारतीय कम्पनीको सफ्टवेयर चल्छ। वाग्मती बाहेक अन्य १३ वटा यातायात कार्यालयमा भने योमरीकै सफ्टवेयर चल्ने हमालले बताए।
स्मार्टकार्ड देशैभरि लैजान नसक्ने भएपछि मात्र विभाग सफ्टवेयर अपग्रेड गर्न तयार भएको उनको भनाइ छ। सफ्टवेयर अपग्रेड हुने बित्तिकै समस्या समाधान हुनेछ।
हमालले भने, 'दुई/तीन ठाउँमा परीक्षण गरेपछि सोमबार या मंगलबार सम्म सेवा पूर्णरुपमा सुरु हुन्छ।' सात वर्षअघि लाइसेन्स लिनेको संख्या थोरै थियो।
त्यो बेला यातायात व्यवस्था विभागले सानो बजेटको सफ्टवेयर लिएको थियो। यो सफ्टवेयरको क्षमता १० लाख भन्दा बढी डाटा राख्न सक्ने थिएन। डाटा थपिँदै जाँदा स्पेस कम भएपछि सर्भर डाउन हुन सुरु भएको थियो।