
काठमाडौं : चाबहिलको मित्रपार्कस्थित दीर्घायु गुरु अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु उनका आफन्तले आरोप लगाएका छन्।
मिर्गौलाको पत्थरीको अप्रेसनपछि इलाम बाँझो–७की ६३ वर्षीया सरिता राईको मंगलबार साँझ मृत्यु भएको थियो। चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भए पनि अस्पताल व्यवस्थापन गल्ती स्वीकार गर्न तयार नभएको मृतककी छोरी बिमला राईको भनाइ छ।
बिहीबार साँझ प्रहरी कार्यालयमै वार्ता गर्ने भनी झुक्याएर धर्नामा रहेका ६ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा पुर्याइएको थियो। तर उनीहरुलाई झन्डै ६ घन्टापछि प्रहरीले छाडिसकेको छ।
‘हाम्रो माग त अस्पतालले सार्वजनिक रुपमा माफी माग्नुपर्छ, दोषी चिकित्सकमाथि कारबाही हुनुपर्छ भन्ने मात्र हो,' मृतककी छोरी राईले भनिन्, ‘हाम्रो आमाजस्तै गरी अरूका आमा, बुवा, छोराछोरी कसैले पनि ज्यान गुमाउनु नपरोस्।’
उनका अनुसार आमालाई अप्रेसनका लागि पुस २९ गते उक्त अस्पतालमा भर्ना गरिएको थियो। डा. वीरेन्द्रप्रसाद यादव नेतृत्वको टोलीले शनिबार अप्रेसन गरेकोमा बिरामीलाई आइतबार आइसीयूमा लगिएको थियो।
समस्या समाधानका लागि अहिले पीडित पक्ष र अस्पताल व्यवस्थापनबीच वार्ता चलिरहेको छ।