PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

अब अनलाइनबाटै कन्सुलर सेवा लिन सकिने



पहिलोपोस्ट

काठमाडौँ : वैदेशिक रोजगारीका लागि विभिन्न देशमा रहेका नागरिकले कन्सुलर विभागबाट लिनुपर्ने विविध कानुनी सेवा अब अनलाइनमार्फत् नै लिन सकिने भएको छ।

परराष्ट्र मन्त्रालयको कन्सुलर विभागले अबदेखि विदेशमा हराएका नागरिकको खोजतलास र उद्दार, विदेशमा मृत्यु भएकाको शव झिकाउने, मृतकका परिवार र घाइतेले पाउनुपर्ने क्षतिपूर्ति, अधिकृत वारेसनामाजस्ता सेवाका लागि अब अनलाइनबाटै आवेदन गर्न सकिने भएको हो।

यी सेवाका लागि त्यस्ता व्यक्ति र उनीहरुका आफन्त स्वयम् विभागमा आई आवेदन गर्नुका साथै सो कार्य प्रगतिको सोधपूछका लागिसमेत आफै उपस्थित हुनुपर्नेमा अबदेखि अनलाइनबाटै आवेदन गरी आफ्नो आवेदन कहाँ पुग्यो र के हुँदैछ भन्नेबारेमा घरैमा बसी जानकारी लिन सकिने छ।

अनलाइनबाट यस्तो सेवाका लागि गरिएको सेवाग्राहीको आवेदन सम्बन्धित देशमा रहेका नेपाली नियोगमा पनि पुग्ने र यसबारेमा ती नियोग पनि सेवाप्रति जिम्मेवार हुनुपर्ने छ।

सोसम्बन्धी अनलाइन सेवाको परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले आज कन्सुलर विभागमा शुभारम्भ गरे। यस सेवाअन्तर्गत् कामदारले आफ्ना कम्पनी या अन्य विषयमा गर्ने गुनासो र समस्याको पनि सुनुवाइ हुने व्यवस्था गरिएको छ।

सो अनलाइन सेवाको शुभारम्भ गर्दै मन्त्री डा. महतले कन्सुलर सेवा विभागमार्फत् जनतालाई प्रदान गरिने सेवालाई छिटो, सर्वसुलभ, कम खर्चिलो र पारदर्शी बनाउने प्रयोजनमा अनलाइन सेवा प्रभावकारी हुने अपेक्षा गर्दै यसबाट बढीभन्दा बढी लाभ लिन नेपाली नागरिकलाई आग्रह पनि गरे।

परराष्ट्र सचिव शङ्करदाश वैरागीले कन्सुलरजस्तो सेवा अनलाइनबाट दिन थालिएबाट कन्सुलर सेवा विभागले नेपालको परम्परागत कार्यप्रणालीमा निकै ठूलो फड्को मारेको बताए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell