
काठमाडौं : नेपाल आर्मीले प्रधानसेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ। ललितपुरको लगनखेलस्थित आर्मी शारीरिक तथा तालिम केन्द्रको कभर्डहलमा शुक्रबार सञ्चालन भएको फाइनलमा आर्मीले विभागीय प्रतिद्वन्दी नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै लगातार दोस्रो पटक उपाधि जित्न सफल भयो।
प्रतिस्पर्धात्मक सुरुवाती दुई सेट समान २५–२३ को स्कोरमा जित्दै आर्मीले २ ० को अग्रता बनायो। तेस्रो सेट पनि २५–१७ ले आफ्नो पक्षमा पार्दै आर्मीले ३ ० को सेटमा पुलिसलाई हराउन सफल भयो।
युवा खेलाडिको उत्कृष्ट प्रदर्शनमा आर्मीले प्रतियोगितामा एक सेट पनि नगुमाई उपाधि जितेको हो।
उपाधि विजेता आर्मीले नगद ३ लाख प्राप्त गर्यो। उपविजेता पुलिसले १ लाख ५० हजार तथा तेस्रो भएको पश्चिमाञ्चल भलिबल संघले ७५ हजार नगद हात पारे। तीनै टिमले नगद सहित ट्रफि, मेडल था प्रमाण पत्र प्राप्त गरे।
व्यक्तिगत विधामा पनि च्याम्पियन आर्मीका खेलाडीको वर्चस्व रह्यो। आर्मीका मान बहादुर श्रेष्ठ प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी घोषित भए। उनले बजाजको पल्सर मोटरसाइकल प्राप्त गरे। आर्मीकै धन बहादुर भटृले बेष्ट स्पाईकर, कप्तान हरिहजुर थापाले बेष्ट ब्लकर र इश्वर थापा मगरले बेस्ट डिफेन्डरको उपाधि जिते ।
आर्मीकै जगदीस भट्ले बेस्ट कोचको अवार्ड पाए। नेपाल पुलिसका कप्तान इम राना मगर बेस्ट सेटर चुनिए। विधागत उत्कृष्ट र प्रशिक्षकले समान नगद १० हजार पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको विजेता खेलाडीलाई प्रधानसेनापति राजेन्द्र क्षेत्री, राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्यसचिव केशवकुमार विष्ट, राखेपका पुर्व सदस्य–सचिव जिवनराम श्रेष्ठ र गोल्छा अर्गनाइजेशनका उपाध्यक्ष अमिताभ अग्रवाल लगायतले पुरस्कृष्त गरे।
पूर्व भलिबल खेलाडि विजय र अक्कल लाईफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानीत
प्रधानसेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताका अवसरमा नेपाली सेनामा कार्यरत रहँदा सन् १९७७ मा चीनमा आयोजना भएको एसियन भलिबल खेलमा नेपालबाट सहभागी अवकास प्राप्त नेपाली सेनाका सहायक रथी विजय विक्रम खड्का र सेनानी अक्कल बहादुर चन्द लाईफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानीत भए। उनीहरुलाई प्रधानसेनापति क्षेत्रीले अवार्डबाट सम्मानीत गरे।