PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

दोस्रो पटक आहा रारा गोल्डकपको फाइनलमा भिड्दै आयोजक सहारा र मनाङ



पहिलोपोस्ट

दोस्रो पटक आहा रारा गोल्डकपको फाइनलमा भिड्दै आयोजक सहारा र मनाङ

पोखरा :  १५ औं आहा रारा गोल्डकपको उपाधिका लागि सहारा क्लब र डिफेण्डिङ च्याम्पियन मनाङ मर्स्याङदी क्लब आज भिड्दैछन्। आयोजक सहारा र ए डिभिजन क्लब मनाङ पोखरामा आहा राराको उपाधिका लागि भिड्न लागेको यो पहिलो अवर भने होइन।

तीन वर्ष अघि १२ ‌औं संस्करणको फाइनलमा पनि सहारा र मनाङ नै भिडेका थिए। जहाँ आयोजक क्लबले मनाङलाई १–० ले पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो।

सहारा पहिलो चरणमा सुदूरपश्चिमलाई हराएको थियो भने क्वाटरफाइनलमा भारतको सिक्किम युनाइटेड र सेमिफाइनलमा नेपाल आर्मीलाई पेनाल्टीसुटआउटमा पराजित गरेको थियो।

यता पहिलो चरणमा बाई पाएको मनाङले क्वाटरफाइनलमा धरान फुटबल क्लब र सेमिफाइनलमा संकटा क्लबलाई हराएको थियो।

आयोजक सहारा आहा राराको फाइनलमा पुगेको यो तेस्रो पटक हो। यसअघि ११ औं संस्करणमा थ्रिस्टरसँग पराजित हुँदै उपविजेता बनेको सहाराले १२ औं संस्करणमा मनाङलाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो।

यस्तै ८ पटक फाइनल पुगेको मनाङले अहिलेसम्म ४ पटक आहा राराको उपाधि जितिसकेको छ। डिफेन्डिङ च्याम्पियन समेत रहेको मनाङले यसअघि दोस्रो, तेस्रो र १० औं संस्करणको उपाधि जितेको थियो।

यस सिजन मनाङले नकआउट टुर्नामेन्टको फाइनल खेल्न लागेको यो लगातार तेस्रो पटक हो। हेटौडा गोल्डकपको फाइनलमा नेपाल आर्मीसँग पराजित भएको मनाङले सुदूरपश्चिम खप्तड गोल्डकपमा संकटालाई हराउँदै उपाधि जितेको थियो।
 
उपाधि भिडन्तको अघिल्लो दिन शुक्रबार पोखरा रंगशालामा आयोजित पत्रकार सम्मेलनमा दुबै टिमका प्रशिक्षक र टिम क्याप्टेनले एक अर्कोलाई कम नआक्ने तर जित भने आ-आफ्नो पक्षमा रहेको दावी गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell