PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

शुक्रबार किन दिनभर बिजुली जानेआउने भइरह्यो? यस्तो छ कारण



पहिलोपोस्ट

शुक्रबार किन दिनभर बिजुली जानेआउने भइरह्यो? यस्तो छ कारण

काठमाडौँ : लोडसेडिङमुक्त काठमाडौँ लगायत देशका बिभिन्न भेगमा शुक्रबार पटक पटक बिजुली  गइरह्यो। 
 
कुनै बेला छोटो समय त कहिले १/२ घण्टासम्मनै बत्ति गएको थियो। सामाजिक सञ्जालमा धेरैले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सम्बोधन गर्दै बिजुली नआएको स्टाटस र ट्विट पोष्ट गरेका थिए। 
 
लाइन आएन भनेर ट्विट गर्नेमा पूर्व सचिवहरु मैतीदेवी निवासी सचिव कृष्ण ज्ञवालीदेखि बालकोट निवासी रामेश्वर खनालसम्म थिए।
 
दरबारमार्ग र आसपासका क्षेत्रमा पनि दिउँसो तीन घण्टासम्म बिजुली काटिएको थियो।
 
आखिर के थियो त यसरी लाइन काटिने कारण?
 
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङका अनुसार लामो समय पछि पानी परेर यस्तो समस्या आएको हो। 
 
'लामो समयपछि पानी पर्दा फिडरहरुमा लाइन सर्ट हुन जान्छ, उनले भने- लामो लामो तार टाँगेको ठाउँमा यस्तो समस्या अझ धेरै हुन्छ।'
 
राजधानीमा मात्र नभए बाहिर यस्तो समस्या झन् धेरै देखिएको उनले जानकारी दिए। 'वीरगन्ज लगायत क्षेत्रमा यो समस्या अझ धेरै देखियो, उनले भने- जहाँ जहाँ ट्रान्सफर्मरबाट लामो लामो तार टाँगेर उपभोक्ताको घरसम्म बिजुली पुर्‍याइएको छ त्यहाँ बढी यो समस्या आयो।'
 
शुक्रबार चिसो दिन भएर उपभोक्ताले हिटर लगायत धेरै बिजुली खपत गर्ने उपकरण चलाए पनि लोड व्यवस्थापनमा कुनै समस्या नआएको उनले जानकारी दिए। 

झरीका कारण आएको समस्या पनि प्राधिकरणका कर्मचारीले थाहा पाउने बित्तिकै बनाएको उनले बताए। तर, पानी परिरहेको कारण एकतिरको मर्मत पूरा नगरि अर्को ठाउँमा समस्या बल्झिएको उनले जानकारी दिए। 
 
पानीले एक सर्को भिजाइ सकेको हुँदा शनिबारदेखि यस्तो समस्या कम हुने उनले बताए। त्यसो त मौसम विभागका अनुसार शनिबार पानी पर्ने सम्भावना पनि कम छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell