फलेवास (पर्वत) : दक्षिण पर्वतको रानीपानीमा सञ्चालित श्रीमद्भागवत ज्ञान महायज्ञ तथा विहादी धार्मिक महोत्सव शनिबारदेखि सुरु भएको छ।
स्थानीय नेपालतारा माविमा स्नातक तह र प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले आगामी माघ २२ गतेसम्म महायज्ञ सञ्चालन गरिएको हो।
महायज्ञमा सांसद अर्जुनप्रसाद जोशीले रु २० लाख २५ हजार सहयोग गरेका छन्। विकट गाउँका विपन्न विद्यार्थीलाई पठनपाठनमा सहयोग मिलोस् भनेर आफूले उक्त रकम सहयोग गरेको महायज्ञ उद्घाटनपछि जोशीले बताए।
त्यस्तै सांसद विकास लम्सालले पनि विद्यालयमा स्नातक तह र प्राविधिक शिक्षाका लागि आफूले सक्दो सहयोग उपलब्ध गराउने वचन दिए।
उच्च शिक्षा अध्ययन गर्न गाउँभन्दा बाहिर जान बाध्य दक्षिण क्षेत्रका विद्यार्थीलाई उच्चस्तरको शिक्षा गाउँमै दिने उद्देश्यले विहादी क्याम्पसको सञ्चालन गर्ने र नेपाल तारा मावि रानीपानीमा सञ्चालित प्राविधिक शिक्षालाई देशकै उत्कृष्ट प्राविधिक शिक्षालयका रूपमा विकास गर्ने उद्देश्यले उक्त महायज्ञ सञ्चालन गरिएको हो।
महायज्ञमा युवा पण्डित भागवत भाष्कर दिनबन्धु पोखरेलले प्रवचन दिएका छन्। महायज्ञबाट झन्डै रु पाँच करोड सङ्कलन गर्ने उद्देश्य रहेको प्रचारप्रसार संयोजक अनिल मास्केले जानकारी दिए। रासस