PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

​आप्रवासी नीतिमा कडा बन्दै ट्रम्प, शरणार्थीलाई चार महिना अमेरिका प्रवेशमा रोक



रासस

​आप्रवासी नीतिमा कडा बन्दै ट्रम्प, शरणार्थीलाई चार महिना अमेरिका प्रवेशमा रोक

वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा बढ्दो आप्रवासी दबाब तथा आतङ्कवादलाई नियन्त्रण गर्न कडा नियम ल्याउन आदेश दिएका छन्। 

शुक्रबार पेन्टागनमा भएको रक्षामन्त्री जनरल जेम्सम्याटिसको सपथग्रहणका क्रममा राष्ट्रपति ट्रम्पले अमेरिकालाई सुरक्षित राखिराख्न उग्रवादी इस्लामिक समूहका सदस्यको प्रवेशलाई नियन्त्रण राख्न जरुरी हुने भएकाले नयाँ तथा कडा उपाय सोच्न आफ्ना रक्षामन्त्रीलाई सल्लाह दिए। 

उक्त अवसरमा ट्रम्पले आप्रवासीहरुलाई दिने कडा उपाय के रहने छन् भन्नेबारे भने विस्तृत रुपमा जनाएनन्। राष्ट्रपति ट्रम्पले आफू अमेरिकाको हित चाहने र अमेरिकालाई माया गर्नेहरुको प्रवेशलाई नियन्त्रण गर्ने नभई यसका विरोधी यहाँ प्रवेश नगरुन भनेर नयाँ कानुन ल्याउन चाहेको बताए। 

ट्रम्पले भने ‘हामी यो सुनिश्चित गर्न चाहन्छौँ कि हामी हाम्रा देशका लागि जोखिम हुने तत्वलाई देश भित्रिन दिने छैनौँ । हामी अमेरिका र यहाँका नागरिकलाई माया गर्ने विदेशीलाई मात्रै यहाँ आउन दिन्छौँ।’ 

ट्रम्पले बहुसंख्यक मुसलमान भएका विभिन्न छ मुलुकबाट अमेरिका पुग्ने नागरिकमाथि निगरानी बढाउन चाहेको स्पष्ट पारे। 

अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो चुनावी अभियानमा मसुलमानहरुको व्यापक अध्ययनविना अमेरिका प्रवेश गर्न नदिने बताए पनि राष्ट्रपतिमा निर्वाचित भएयता यस विषयलाई चर्चाको विषय बनाएका थिएनन्। 

पूर्व राष्ट्रपति बाराक ओबामा प्रशासनले सिरियामा जारी द्वन्द्वबाट प्रभावित भई विस्थापित बनेका करिब १० हजार शरणार्थीलाई अमेरिका प्रवेश गर्न दिएको थियो। 

यसैबीच ट्रम्पको मुसलमानलाई अमेरिका प्रवेशमा कडाई गर्ने भनेपछि बहुसंख्यक मुसलमान भएका मुलुकबाट आलोचना हुँदै आएको छ। 

यसैबीच राष्ट्रपतिको आदेश अनुसार अमेरिकाले सम्पूर्ण मुलुकबाट यहाँ आउने शरणर्थीलाई १२० दिनका लागि रोक्न शनिबार देखि नै शुरु गरेको अमेरिकी सञ्चारमाध्ययमले जनाएका छन्। 
त्यस्तै इराक, सिरिया, इरान, सुडान, सोमालिया र यमनका पर्यटक समेतलाई आगामी ९० दिनका लागि रोक लगाएको छ। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell