PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

​सौर्य उर्जामा सर्वसाधरणको आकर्षण, बैंकबाट ऋण लिएर जडान गर्ने क्रम बढ्दो



रासस

कञ्चनपुर : बिना धितो निर्धन उत्थान बैंक लिमिटेड झलारी शाखा कार्यालयबाट कर्जा लिई १९४ जनाले सौर्य ऊर्जा प्रणाली जडान गरेका छन्। 

समूह जमानीका आधारमा बैंकबाट कर्जा लिई झलारी पिपलाडी, बेदकोट र कृष्णपुरका बासिन्दाले सौर्य ऊर्जा प्रणाली जडान गरेका हुन्। 

बढ्दो विद्युत्भार कटौतीबाट छुटकारा पाउनका लागि बैंकले गठन गरेका समूहमा आबद्ध सदस्यले रातका बेला घर उज्यालो पार्न, रेडियो, टिभी चलाउन, चिसोमा पानी तातो बनाउन, खाना पकाउन हिटर चलाउन र हेन्डपम्पमा जडान गरेको विद्युतीय मोटरबाट पानी निकाल्नका लागि सौर्य ऊर्जा प्रणालीको सदुपयोग गर्दै आएका छन्। 

‘समुहका आर्थिक रुपमा अतिविपन्न परिवारको छनोट गरी वार्षिक १६ प्रतिशत ब्याजमा सौर्य ऊर्जा प्रणाली जडान गर्नका लागि कर्जाका रुपमा रु ७७ लाख ६० हजार रकम परिचालन गरेका छौं’, बैंकका शाखा प्रबन्धक रामज्ञा रामले भने। 

उनका अनुसार सौर्य प्रणालीको सदुपयोग गर्दै आएका सदस्यलाई जनही रु ३५ हजारदेखि रु ४० हजारका दरले कर्जाको रकम प्रदान गरिएको छ। कर्जाको रकम सरल २४ किस्ताका रुपमा दुई वर्षभित्र चुक्ता गर्ने सीमा निर्धारण गरिएको छ। 

बैंकबाट कर्जा लिई सौर्य ऊर्जा प्रणाली जडान गरेकी दीपनगरकी बेलुदेवी चुनाराले बढ्दो विद्युतभार कटौतीबाट छुटकारा पाएको बताइन्। 

सौर्य ऊर्जा प्रणालीको उपयोग गर्न थालेपछि विद्युत्को महसुलसमेत थोरै मात्र बुझाउँदै आएका छौँ, उनले भनिन् ‘विद्युत् नहुँदा पनि घर सधैँ उज्यालो हुने भएकाले निकै सहजता भएको छ ।’ 

‘विद्युतको अभावमा मट्टीतेलको टुकी, दियो र मैनबती बालेर उज्यालो गर्ने दिनको अन्त्य सौय ऊर्जा प्रणाली जडानले गरिदिएको छ’, उनले भने। 

बेदकोट नगरपालिकाको वसन्तथलाकी नितु रावतले विगतमा विद्युत् जडान गर्ने खर्च नहुँदा टुकी र लालटेनको सहारामा बस्दै आएको उल्लेख गर्दै भने ‘बैंकले गठन गरेको समूहमा आबद्ध भई बिना धितो जमानीका आधारमा कर्जा पाएपछि सौर्य ऊर्जा प्रणाली जडान गरी घर उज्यालो पारेका छौँ।’

बैंकमा अझै सौर्य ऊर्जा जडानका लागि सय बढी समूहमा आबद्ध सदस्यले माग गरेका छन् । सौर्य ऊर्जा र गोबरग्यास जडानका लागि ३९४ सदस्यलाई बैंकले रु एक करोड २९ लाख ४० हजार रकम लगानी गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell