
काठमाडौँ : त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।
आठ बर्षपछि फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ। विश्वविद्यालय निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले आइतवार निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो।
निर्वाचनसम्बन्धी जारी सूचनामा स्ववियु निर्वाचन यही फागुन १४ हुने जानकारी गराउँदै समितिले यही माघ १५ गतेदेखि स्नातक र स्नातकोत्तर तह प्रथम वर्षको विद्यार्थी भर्ना कार्यक्रम सम्पूर्ण क्याम्पसमा बन्द गर्न निर्देशनसमेत दिइएको छ।
विश्वविद्यालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार मतदाता सूची फागुन १ गते प्रकाशित हुनेछ। यस्तै, फागुन ३ गते दिउसो १ बजेसम्म मतदाता सूचीबारे दावी विरोध गर्ने समय दिइएको छ।
कार्यतालिका अनुसार उम्मेद्वारको मनोनयन फागुन ४ गते बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म कायम रहनेछ। प्रत्यक्ष र समानुपातिक तर्फका दुवै उम्मेद्वारको मनोनयन सोही समयमा हुनेछ।
यस्तै, उम्मेद्वारको नामावली प्रकाशन फाुगन ५ गते साँझ ५ गतेभित्र हुनेछ। उम्मेद्वार उपरको दावी बिरोध फागुन ६ गतेभित्र हुनेछ।
मनोनयन फिर्ता लिन चाहने उम्मेद्वारलाई फागुन ८ गते दिउसो १ बजेसम्मको समय दिइएको छ। सोही दिन साँझ ४ बजे उम्मेद्वारको अनितम नामावली प्रकाशन हुनेछ।
मतदान फागुन १४ गते हुनेछ।