PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

यी हुन् फोर्ब्सको सूचीमा अटेका विश्वका सबैभन्दा महँगा ५ सहरहरु



पहिलोपोस्ट

यी हुन् फोर्ब्सको सूचीमा अटेका विश्वका सबैभन्दा महँगा ५ सहरहरु

टन्न पैसा कमाएर कुनै महँगो सहरमा आलिशान घरमा जीवन बिताउने जो कसैको सपना हुन सक्छ। अमेरिका, युरोपका कुनै सहरहरु धेरैको रोजाइमा पर्न सक्छन्। तपार्इं अनुमान गर्न सक्नुहुन्छ? कुन होला विश्वको सबैभन्दा महँगो सहर जहाँ घर वा अपार्टमेन्ट किन्नु दिवास्वप्न मात्र हुन सक्छ।
 
युरोप वा अमेरिकाका सहरहरु महँगा भन्ने मान्यतालार्इ हालै अक्सफोर्ड इकोनोमिक्सले गरेको एक अध्ययनले गलत साबित गरिदिएको छ।
 
अध्ययनलार्इ आधार मान्दै फोर्ब्सले सार्वजनिक गरेको ५ महँगा सहरका सूचीमा चार वटा त एसियामा परेको छ। यी सहरहरुमा ९७० वर्गफुटको एउटा अपार्टमेन्ट किन्नका लागि एक व्यक्तिको ३० वर्षको औसत आयभन्दा बढी रकम आवश्यक पर्ने अध्ययनले देखाएको छ।
 
लन्डन
लन्डनको रियल स्टेट सेक्टर सोच्नै नसक्ने गरी महँगिएको छ। बर्सेनि प्रोपर्टीको भाउ डबल डिजिटमा बढिरहेको छ। यहाँका घरहरु एकदम महँगा हुँदै गएका छन्। सन् २००६ मा २ लाख ५७ हजार पाउण्डमा पाइने घर अहिले ४ लाख ७४ हजार पाउण्ड पर्छ। घरहरुको भाउमा ८४ प्रतिशतसम्मको वृद्धि देखिएको छ। यसैबाट बुझ्न सकिन्छ लन्डन सहर कति महँगो साबित भएको छ।
 
सामान्य मानिसले कल्पना नै गर्न नसक्ने गरी यहाँका घरहरु महँगिएको छ। सामान्य मानिसले चिताउनै नसक्ने गरी बढिरहेको भाउलार्इ घटाउन सरकारी प्रयास नभएको पनि होइन। तर रियल स्टेटको भाउ घटाउन भएको सरकारी प्रयास केही काम लागेन। सरकारले लग्जरी प्रोपर्टीका लागि लगाइने दरहरुमा परिवर्तन ल्याउने प्रयास समेत गरेको छ। यही कारण यो वर्ष हाउजिङको भाउ केही घट्न सक्ने संकेत अध्ययनले गरेको छ।
 
सांघाई
महँगा सहरहरुको चौथो नम्बरमा छ सांघाई । सांघाई चीनको सबैभन्दा ठूलो प्रोपर्टी मार्केटको रुपमा विकसित भइरहेको छ। यो सालमात्रै सांघाईमा गत वर्षभन्दा ४० प्रतिशतले रियल स्टेटको भाउ बढेको छ। गत अगस्ट एकै महिनामा मात्रै ५ प्रतिशतले बढेको हाउजिङ रेट बढेको सांघाईमा यो दर घट्ने कुनै छाँटकाँट देखिँदैन।
 
सन् २०१५ मा घरेलु स्टक मार्केटमा आएको मन्दीले धेरै लगानीकर्ता प्रोपर्टीतिर आकर्षित भए। हाउजिङ व्यवसायमा लगानी बढाएका व्यवसायीहरु यतिखेर हौसिएका छन्। परिणाम आज सांघाई विश्वको महँगा सहरहरुको सूचीमा चौथो नम्बरमा छ। हाउजिङ व्यवसायलार्इ कुल डाउन गर्नका लागि सरकारले खरिद सिमा तथा मोर्ट्गेजको सिमा नै तोकेर नयाँ प्रावधान ल्याएको छ।
 
बेइजिङ
चीनको राजधानी सहर बेइजिङ पनि महँगा सहरहरुको सूचीमा तेस्रो नम्बरमा छ। बेइजिङमा प्रोपर्टी जोड्न कति पैसा लाग्ला अन्दाज गर्न सक्नुहुन्छ? बेइजिङमा हाउजिङको लागि प्रति वर्ग मिटर ५ हजार ८ सय २० डलर तिर्नुपर्छ। गत सेप्टेम्बरमा मात्रै हाउजिङ रेट ३० प्रतिशतले बढेको छ। चीनका अरु ठूला सहरहरुमा ११ प्रतिशतले मात्र हाउजिङको भाउ बढ्दा बेइजिङमा भने ३० प्रतिशतले बढेको छ बेइजिङ कति महँगो छ भनेर बुझ्नका लागि यति नै काफी छ।
 
मुम्बई
अचम्म मान्नुपर्ने केही छैन। सबैभन्दा ठूलो सुकुम्बासी बस्ती भएको भारतको साँघुरो सहर मुम्बई अहिले विश्वकै महंगो रियल स्टेटको सहरका रुपमा चिनिएको छ। मुम्बईको प्रोपर्टी मार्केटको विकासको गति यति तीव्र छ कि यहाँ रियल स्टेट व्यापारीहरु धमाधम हाउजिङ ठड्याइरहेका छन्। सामान्य मानिसले कल्पनै गर्न नसक्ने गरी यहाँका हाउजिङहरु महँगा छन्।
 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक हजार र पाँच सयका नोटमा लगाएको प्रतिबन्धका कारण केही सुस्ताएको छ। ट्याक्स छल्नका लागि नगदमा कारोबार हुने गरेको रियल स्टेट सेक्टरमा यो नोटबन्दीको प्रभाव स्पष्ट देखिएको छ। यो सेक्टरको मूल्य सन् २०१७ मा ३० प्रतिशतसम्मले घट्ने अनुमान अध्ययनले गरेको छ।
 
हङकङ
विश्वकै सबैभन्दा महँगो सहर हो हङकङ। महँगा सहरहरुको सूचीको टप लिस्टमा विगत सात वर्षदेखि हङकङ नै रहेको छ। हङकङलार्इ अझैपनि निकै महँगो र घर किन्नै नसकिने ठाँउका रुपमा लिइन्छ।
 
कम ब्याज दर र धनाढ्य चिनियाँ खरिदकर्ताहरुको चापका कारण हङकङको रियल स्टेट मार्केट सामान्य मानिसको कल्पनामा पर्नै सकेको छैन। यहाँ मध्यमवर्गका सामान्य मानिसले घर वा प्रोपर्टी किन्ने सपना देख्नु मूर्खता सिवाय अरु केही हुन सक्दैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell